अन्तिम ओभरमा नादिन डी क्लर्कको जादुयी प्रदर्शनले डब्लुपीएलमा आरसीबीले मुम्बईलाई हरायो

अन्तिम ओभरमा नादिन डी क्लर्कको जादुयी प्रदर्शनले डब्लुपीएलमा आरसीबीले मुम्बईलाई हरायो

एजेन्सी : महिला प्रिमियर लिगको रोमाञ्चक उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले साविक विजेता मुम्बई इन्डियन्सलाई हराउँदै शानदार सुरुआत गरेको छ।

हारको नजिक पुगिसकेको आरसीबीलाई दक्षिण अफ्रिकी अलराउन्डर नादिन डी क्लर्कले अविश्वसनीय ब्याटिङ गर्दै जित दिलाइन्।

जितका लागि आरसीबीलाई अन्तिम ओभरमा १८ रन आवश्यक थियो। मुम्बईकी बलर न्याट सिभर-ब्रन्टले सुरुका दुई बलमा कुनै रन दिइनन्।

तर, त्यसपछि डी क्लर्कले खेलको नक्सा नै बदलिदिइन्। उनले लगातार छक्का, चौका र छक्का प्रहार गरिन्। अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा क्लर्कले बलरको टाउको माथिबाट सट प्रहार गर्दै टोलीलाई असम्भव लाग्ने जित दिलाइन्।

नादिन डी क्लर्कले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरिन्। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिइन् भने ब्याटिङतर्फ अविजित ६३ रन बनाइन्। आरसीबीका प्रमुख ब्याटरहरू स्मृति मन्धना, ग्रेस ह्यारिस र रिचा घोष सस्तैमा आउट भइसकेको अवस्थामा उनले यो इनिङ खेलेकी हुन्।

खेल मुम्बईको पक्षमा आइसकेको थियो, तर १९औं ओभरमा उनीहरूले ठूला गल्ती गरे। न्याट सिभर-ब्रन्ट र अमेलिया केरले डी क्लर्कको क्याच छोडे भने रनआउटको मौका पनि गुमाए। यी गल्तीहरू नै मुम्बईको हारको कारण बन्यो।

एक समय आरसीबीले ६५ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो। अमेलिया केर र लरेन बेलको कसिलो बलिङका कारण आरसीबी दबाबमा थियो। तर, डी क्लर्क र अरुन्धती रेड्डी (२० रन) बीचको ५२ रनको साझेदारीले आरसीबीलाई खेलमा फर्कायो।

यसअघि मुम्बईका लागि सजना र निकोला क्यारीले ८५ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए। सजनाले आक्रामक ब्याटिङ गरेकी थिइन् भने क्यारीले उनलाई राम्रो साथ दिएकी थिइन्।

जितसँगै आरसीबीले प्रतियोगितामा सुखद सुरुआत गरेको छ। डी क्लर्कको यो प्रदर्शनले मुम्बईकी कप्तान हरमनप्रीत कौरलाई २०२५ को एकदिवसीय विश्वकपको याद दिलायो, जहाँ भारतले यस्तै किसिमको हार व्यहोरेको थियो।

पुष २६, २०८२ शनिबार ०७:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।