लुम्बिनी कांग्रेसमा नयाँ समीकरण : देउवा पक्ष रक्षात्मक, बहुमत प्रतिनिधि गगन-विश्वप्रकाशको कित्तामा
बुटवल : नेपाली कांग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेका बेला लुम्बिनी प्रदेशमा विशेष महाधिवेशनका पक्षधरहरू खुल्न थालेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आह्वान भएपछि लुम्बिनीका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर र सार्वजनिक अपिलमार्फत आफ्नो पक्षधरता स्पष्ट गर्दै छन्।
विशेष महाधिवेशनको पक्षमा रहेका प्रतिनिधिहरूले ‘फोड्न होइन, दम्भ र अंहकार तोड्न। एक्लै चुनाव लड्न सक्ने गरी काँग्रेसलाई जोड्न। २६ गते काठमाडौं जाऔँ, विशेष महाधिवेशन सफल पारौँ’ भन्ने नाराका साथ काठमाडौं केन्द्रित हुन दबाब सुरु गरे। संस्थापन पक्षले वैशाख २८ का लागि १५औँ महाधिवेशनको कार्यतालिका ल्याए पनि गगन-विश्वप्रकाश पक्षले पुस २७ र २८ गते नै काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारीलाई तीव्रता दियो।
विशेष महाधिवेशनको मिति दुई दिन मात्र बाँकी रहँदा कुन महाधिवेशन रोज्ने भन्ने विषयमा प्रतिनिधिहरू ध्रुवीकृत हुन थाले। लुम्बिनी प्रदेशमा संस्थापन पक्षको पकडलाई चुनौती दिँदै गगन-विश्वप्रकाश पक्षले प्रतिनिधिहरूको ठूलो हिस्सालाई आफ्नो कित्तामा ल्यायो। प्रदेश सभापति अमरसिंह पुनले विशेष महाधिवेशन सफल पार्न सार्वजनिक रूपमै आह्वान गर्दै ६५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरे।
सभापति पुनले भने, “पार्टीलाई सुदृढ बनाउन विशेष महाधिवेशन हुँदैछ। हामी करिब ७० प्रतिशत प्रतिनिधि काठमाडौं जान्छौं। हाम्रो राम्रो, दरिलो, बलियो उपस्थित हुनेछौं।” लुम्बिनीका २६ निर्वाचन क्षेत्रबाट छानिएका ६७६ महाधिवेशन प्रतिनिधिमध्ये हालसम्म ३७५ भन्दा बढीले हस्ताक्षर गरिसकेका छन्।
सभापति पुनका अनुसार प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापतिको समर्थन विशेष महाधिवेशनलाई छ। उनले थपे, “रुपन्देही, दाङ र बर्दियाका सभापति बाहेक ९ जिल्ला सभापतिको हस्ताक्षर भइसकेको छ। विशेष महाधिवेशन सफल हुन्छ।”
रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ४ बाहेकका सबै क्षेत्रीय सभापतिहरू पनि विशेष महाधिवेशनको तयारीमा जुटेका छन्।
यता संस्थापन पक्षले भने हस्ताक्षरको दाबीलाई अस्वीकार गर्दै प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा नरहेको जिकिर गर्यो। प्रदेश उपसभापति राजु खनालले भने, “हस्ताक्षर गरेका सबै जानुहुन्छ भन्ने हामीलाई लाग्दैन। पार्टी फुट्छ हामी जाँदैनौ भन्नुभएको छ।”
को कता ?
लुम्बिनी प्रदेश कार्यसमिति र जिल्ला नेतृत्वमा पनि स्पष्ट विभाजन देखियो। रुपन्देही जिल्लाका सभापति रामकृष्ण खाँण, दाङ जिल्लाका सभापति शंकर डाँगी र बर्दिया जिल्लाका सभापति अरुण राठौर संस्थापन पक्षमा खुले।
सभापति अमरसिंह पुन, उपसभापति भुवन श्रेष्ठ, सहमहामन्त्री निमा गिरी, विष्णु मुस्कान, निलम्बित महामन्त्री विक्रम खनाल र कोषाध्यक्ष प्रकाश राना गगन-विश्वप्रकाश पक्षमा उभिए। अर्का उपसभापति राजु खनाल संस्थापन पक्षमा रहँदा महामन्त्री सुरेन्द्र आचार्य र सहमहामन्त्री खगराज शर्मा शेखर कोइराला समूहमा छन्।
जिल्ला सभापतिहरूमध्ये गुल्मीका खिलध्वज पन्थी, बाँकेका नारायण गौडेल, अर्घाखाँचीका केशव श्रेष्ठ, रुकुम पूर्वका केशरमान रोकाया, रोल्पाका किशोर कुमार आचार्य, प्यूठानका विष्णु गिरी र कपिलवस्तुका अब्दुल कलाम गगन-विश्वप्रकाश पक्षमा खुलेका छन्। यस्तै, शेखर पक्षमा खुलेका नवलपरासीका अर्जुन पोखरेल र पाल्पाका हिमालदत्त श्रेष्ठ पनि विशेष महाधिवेशनकै पक्षमा उभिने आंकलन गरिएको छ।
पार्टीभित्रको अहिलेको शक्ति सङ्घर्षले लुम्बिनी कांग्रेसमा नयाँ समीकरण निर्माण हुने देखिँदै छ। प्रदेश सहमहामन्त्री एवं सांसद निमा गिरीले विशेष महाधिवेशनलाई एकताको आधार मान्दै भनिन्, “पार्टी फुटाउन होइन, पार्टीलाई एक ढिक्का बनाउन लुम्बिनीबाट उल्लेख्य प्रतिनिधिहरू काठमाडौंमा जाँदै हुनुहुन्छ।”
पुष २५, २०८२ शुक्रबार २२:५८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।