रास्वपा-उज्यालो सहमति किचलोको मुख्य कारण केन्द्रीय समितिमा बहुमतको अंकगणित

रास्वपा-उज्यालो सहमति किचलोको मुख्य कारण केन्द्रीय समितिमा बहुमतको अंकगणित

काठमाडौं : मागे अनुसारको केन्द्रीय सदस्य दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नमानेपछि उज्यालो नेपाल पार्टीसँगको एकता लम्बिएको छ।

रास्वपासँगको एकता प्रक्रिया टुङ्ग्याउन शुक्रबार रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच लामै छलफल भए पनि सहमति हुन सकेन। जानकारस्रोतले मुख्य विषय केन्द्रीय सदस्यको संख्या भएको बतायो।

रास्वपासँग एकता गर्न उज्यालो नेपालको तर्फबाट ३३ जना केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव गएको तर लामिछाने ११ भन्दा बढी दिन नसक्ने पक्षमा रहेको उज्यालो नेपालका एक नेताले उकेरालाई जानकारी दिए। कुलमान ११ जना केन्द्रीय सदस्य लिएर रास्वपामा जान सहमत छैनन्।

रास्वपा सभापति लामिछानेसँग शुक्रबार भएको छलफलबारे उनले आफ्नो पार्टीका नेताहरूलाई बेलुका ब्रिफिङ गर्दै सहकार्य सहज हुने नदेखिएको जानकारी गराइसकेका छन्। यसले रास्वपासँगको एकता सङ्कटमा परेको देखियो।

रास्वपासँगको खटपटको प्रभाव कुलमानले राजीनामा दिएर आयोजित पत्रकार सम्मेलनमा समेत देखियो। उनले मन्त्री पदबाट राजीनामा दिँदा उज्यालो अभियान अगाडि बढाउने मात्र भनेनन्, रास्वपासँगको सहमति कार्यान्वयन हुन बाँकी रहेको खुलाए। उनले अबका दिनमा कुन दलबाट राजनीतिमा सक्रिय हुने समेत खुलाएनन्।

त्यसको भोलिपल्ट चितवन पुगेका रविले अब उज्यालो नेपाल पार्टीसँगको एकताको प्रक्रियालाई कार्यान्वयन गर्ने बताएका थिए। तर, शुक्रबारसम्म पनि कुनै निर्णय हुन सकेको छैन।

छलफलमा सहभागी स्रोतका अनुसार उज्यालो नेपालले मागेको संख्या अनुसार केन्द्रीय सदस्य बनाउँदा आफ्नो समूह नै अल्पमतमा पर्ने देखिएपछि रवि र रास्वपाका नेताहरूले मानेका छैनन्।

कुलमान आउँदा बालेनसहितको समूह एकातिर हुने र उनीहरूको पक्षमा बहुमत पुग्दा पार्टीमा आफू अनुकूल निर्णय गर्न असहज हुने उनीहरूको विश्लेषण देखियो।

‘जस्तोसुकै त्याग गर्न तयार छु भने पनि रविजी रिक्त रहेको केन्द्रीय सदस्यको पद दिन समेत तयार हुनु भएन,’ वार्तामा संलग्न स्रोतले भन्यो, ‘बाहिर सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने तर भित्री रूपमा भने आएका साथीहरूसँगै डराउने प्रवृत्ति देखियो।’

केन्द्रीय समितिको अंक गणित
रास्वपाको विधान अनुसार एक सय २९ जनाको केन्द्रीय समिति छ। तर, बालेनसहितको समूह जानु अगाडि जम्मा ५८ मात्रै केन्द्रीय सदस्य थिए। त्यसमा कारबाही गरिएको भनिएका मोहन थापासमेत छन्। पार्टीको आधिकारिक वेबसाइटमा अहिले पनि मोहन केन्द्रीय सदस्यको हैसियतमै छन्।

पार्टी एकतासँगै विवेकशील साझाबाट केन्द्रमा सात जना गएका छन्। बालेन शाह समूहबाट वरिष्ठ नेतासहित २६ जना केन्द्रीय सदस्य भएका छन्। यी सबै सहभागी हुँदा अहिले १ सय २९ सदस्यीय केन्द्रीय समितिको संख्या ९१ पुगेको छ।

अब यसमा बाँकी रह्यो ३८ त्यसमा उज्यालो नेपालको माग अनुसार ३३ जना केन्द्रीय सदस्य दिँदा रिक्त संख्या ५ मात्र हुन्छ। त्यसमा रास्वपाको पुरानै समूहका सदस्य थपिँदा पनि रविको पक्षमा केन्द्रमा ६३ जना मात्र हुन्छन्।

केन्द्रीय समितिमा बहुमतका लागि ६५ सदस्य चाहिन्छ। त्यसैले उनी आफ्नो बहुमत नहुनेगरी उज्यालो नेपालको माग अनुसार केन्द्रीय सदस्य दिन राजी भएका छैनन्।

समानुपातिकमै धोका
उपाध्यक्षसहित उज्यालो नेपाल रास्वपासँग मिल्ने सहमति हुँदा समानुपातिकमा १८ जनाको नाम राख्ने सहमति भएको थियो। सोही अनुसार कुलमानले १८ जनाको नाम रवि लामिछानेलाई पठाए। तर, जम्मा १४ जना मात्र राखियो।

उज्यालोबाट पठाएका चार नाम काट्ने अनि समावेश गरिएकाहरूलाई पनि क्रम सङ्ख्यामा निकै तल राखेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ।

प्रारम्भमा १८ जना नै समावेश गर्नुपर्ने र क्लस्टरको क्रमसङ्ख्यामा अगाडि राख्नुपर्ने माग उठेपछि रास्वपामा जानकारी गराइएको छ। हुन्छ भन्ने आश्वासन आए पनि विश्वास भने नभएको उज्यालोका नेताहरू बताउँछन्।

अर्को समस्या उज्यालोमा रहेका पहिचानवादी नेताहरूको असन्तुष्टि देखिन्छ। जातीय पहिचान, संघीयता र धर्मनिरपेक्षताप्रति रास्वपाको धारणा माग गर्दै उज्यालो पार्टीमा रहेका पहिचानवादी नेताहरूले केन्द्रीय समितिमा छलफलै नगरी रास्वपासँग एकता गरेकोमा पार्टीका संरक्षक कुलमानसँग रिसाएका छन्।

अलग्गिने कि लतारिने ? विकल्प छलफलमै
समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाउने अवधि बाँकी भएको भए अहिले उज्यालो नेपाल र रास्वपाको एकता भङ्ग भइसक्ने अवस्थामा पुगेको देखियो।

पार्टीको तर्फबाट समानुपातिक सूची बुझाउन नसकिने अवस्था र १४ जना रास्वपाको सूचीमा रहेकाले कुलमान समस्यामा परेका हुन्।

समानुपातिक सूची सच्याउन र थपघट गर्न मिल्ने समय बाँकी रहेकाले समानुपातिक सूची बुझाएको कुनै दलसँग एकता सम्भव भएमा रास्वपाको सूचीमा रहेकाहरूलाई राजीनामा गराएर निर्वाचन आयोगमा सूची थपघट गरेर रास्वपासँगको एकताको सहमति भङ्ग गर्नेबारे समेत पार्टीभित्र छलफल भइरहेको एक नेताले बताए।

‘सहमति गर्दा पार्टीभित्र छलफल हुन पाएन। अध्यक्ष र संरक्षक मिलेर निर्णय गर्नुभयो। रास्वपासँग एकता भएको सन्देश बाहिर गइसक्यो,’ उज्यालोका एक नेताले उकेरासँग भने ‘समानुपातिक सूची बुझाउन कानुनी समस्या छ। एकता भङ्ग गर्दा हाम्रै पार्टीलाई घाटा हुनसक्ने भएकाले पनि सकेसम्म सहमतिमा लचक हुन भनिरहेका छौँ। तर संरक्षक नै धेरै पेले भन्नुहुन्छ।’

एकता प्रक्रियामा भइरहेको विलम्बबारे बुझ्न रास्वपाका प्रवक्ता मनिष झालाई फोन गर्दा उनको फोन उठेन।

पुष २५, २०८२ शुक्रबार २२:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।