मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा एनआरएनएले माग्यो क्षमा

मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा एनआरएनएले माग्यो क्षमा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणका विषयमा उत्पन्न अन्योलप्रति क्षमा मागेको छ। 

एनआरएनए अमेरिकाका दुई फरक समूहले मन्त्रीको भ्रमणबारे बाझिने गरी फरक-फरक विज्ञप्ति निकालेपछि उत्पन्न भ्रमलाई चिर्न संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले संयुक्त प्रेस विज्ञप्ति जारी गरे।

विज्ञप्तिमा भनिएको छ, “विकास उप्रेतीको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् र सत्येन्द्र शाहको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद्बीच आपसी समन्वयको अभावका कारण सिर्जना भएको पछिल्लो अवस्थाप्रति हामी क्षमाप्रार्थी छौं।”

एनआरएनएका अनुसार विकास उप्रेतीको अध्यक्षतामा गठित एनसीसी अमेरिकाले मन्त्री गुप्तालाई औपचारिक निमन्त्रणा गरेको थियो। तर, अमेरिकामा रहेका दुई कार्यसमितिबीच समन्वय नहुँदा विवाद देखिएको हो। 

नेपाल सरकारमा जेनजीको प्रतिनिधित्व गर्ने मन्त्री गुप्तालाई विदेशमा रहेका नेपालीसँग जोड्न र “रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन-जी रिभोलुसन” शीर्षकमा छलफल गर्न उक्त कार्यक्रम तय गरिएको संघले जनाएको छ।

एनआरएनएले मन्त्रीको भ्रमणका विषयमा सिर्जना भएको अन्योलले परेको असरप्रति दुःख व्यक्त गर्दै भनेको छ, “यसबाट मन्त्रीज्यू, सम्बन्धित सरकारी निकायहरू, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा अपूरणीय क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ।”

पुष २५, २०८२ शुक्रबार २२:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।