‘निर्वाचन प्रहरी’मा भर्ना हुन प्रहरी परिसरमा युवाको भिड, सडकसम्मै लाइन (फोटो फिचर)

‘निर्वाचन प्रहरी’मा भर्ना हुन प्रहरी परिसरमा युवाको भिड, सडकसम्मै लाइन (फोटो फिचर)

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारले निर्वाचन प्रहरी (म्यादी प्रहरी)को भर्ना प्रक्रिया सुरु गरेको छ। 

शुक्रबारदेखि देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीन प्रहरी परिसरमार्फत आवेदन सङ्कलन सुरु गरेसँगै प्रहरी कार्यालयमा आवेदन दिने युवाहरूको बाक्लो उपस्थिति देखिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस पटक देशभर कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गरिने छ। प्रहरीका अनुसार म्यादी प्रहरीमा सहभागी हुन इच्छुक युवाहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। दरखास्त फाराम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा बुझाउन सकिनेछ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि म्यादी प्रहरीलाई निश्चित अवधिको तालिम दिएर कार्यक्षेत्रमा खटाइनेछ। भर्ना प्रक्रिया सुरु भएसँगै देशभरका जिल्ला सदरमुकामहरूमा युवाहरूको उपस्थिति बाक्लो देखिएको छ। 

तस्बिर : दिपेश श्रेष्ठ/उकेरा

भर्नाको पहिलो दिन काठमाडौंको भद्रकालीस्थित प्रहरी परिसरमा युवाहरूको लामो लाइन देखियो। बिहान १० बजेदेखि नै आवेदन दिन आएका युवाहरू सडकसम्मै लाइन लागेका थिए। उपत्यकाका ललितपुर र भक्तपुर परिसरमा पनि उत्तिकै संख्यामा युवाहरू आवेदन बोकेर पुगेका छन्।

 

पुष २५, २०८२ शुक्रबार १८:०८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।