समानुपातिक सूचीलाई लिएर राप्रपा नेतृहरूको असन्तुष्टि, माग पूरा नभए अनशन बस्ने चेतावनी
काठमाडौं : समानुपातिक बन्दसूचीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद बढेको छ। समानुपातिक सूचीमा नातावाद र अवसरवाद हाबी भएको भन्दै सूची सच्याउन मागसहित केन्द्रीय तहका महिला नेतृहरू पार्टी केन्द्रीय कार्यालय पुगेपछि तनावपूर्ण अवस्था सिर्जना भयो।
उनीहरूले वर्तमान नामावलीले नेपालको संविधानको मर्म र पार्टीको आधारभूत आदर्शलाई लत्त्याएको आरोप लगाए। अल्पसंख्यक, पिछडिएका, उत्पीडित र विपन्न वर्गको राजनीतिक सहभागिता सुनिश्चित गर्नका लागि संविधानले व्यवस्था गरेको समानुपातिक प्रणालीलाई नेतृत्वले उपहास गरेको उनीहरूको दाबी छ।
पार्टीमा लामो समयदेखि रगत-पसिना बगाएका, संघर्षशील र योग्य महिलाहरूलाई पाखा लगाएर पहुँचका भरमा अवसरवादी र परिवारका सदस्यहरूलाई प्राथमिकता दिइएको भन्दै उनीहरूले नेतृत्वसँग जवाफ माग गरे। कुन आधारमा उम्मेदवारको छनौट गरियो र वर्षौंदेखि खटिएका कार्यकर्ताहरू कुन आधारमा सूचीबाट बाहिर परे भन्दै उनीहरूले प्रश्न उठाए।
आन्दोलित नेतृहरूले समानुपातिक सूचीमा देखिएको भनिएको अवसरवादी निर्णय तत्काल सच्याउन र परिवारवादलाई प्रश्रय दिने सबै खाले निर्णय खारेज गर्न माग गरे। उनीहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र र त्यागको सम्मान हुने गरी स्पष्ट मापदण्ड लागू गर्नुपर्ने बताएका छन्।
राप्रपालाई अवसरवाद र परिवारवादबाट मुक्त गरी सिद्धान्तनिष्ठ, जनमुखी र भरोसायोग्य राजनीतिक शक्ति निर्माणमा जोड दिए। पत्रमार्फत आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नभएमा विरोधस्वरुप आमरण अनशन बस्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

पुष २५, २०८२ शुक्रबार १७:२१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।