नेपालमा सामग्री खोज्ने माध्यम बन्दै टिकटक
काठमाडौं : नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा टिकटक लोकप्रिय बन्दै गएको छ। पछिल्लो समय यसको ‘सर्च’ फिचर प्रयोगकर्ताहरूका लागि नयाँ आइडिया खोज्ने, व्यवहारिक सीप सिक्ने र सांस्कृतिक सामग्रीसँग जोडिने प्रभावशाली माध्यम बनेको कम्पनी दाबी छ।
टिकटकद्वारा जारी विज्ञप्ति अनुसार, नेपाली प्रयोगकर्ताहरूले अब टिकटकलाई केवल मनोरञ्जनका लागि मात्र नभई परीक्षाको तयारी, यात्रा योजना, ताजा समाचार र 'हाउ-टु' (कसरी गर्ने) जस्ता विषयहरू बुझ्न ‘भिडियो-फर्स्ट’ सर्च इन्जिनका रूपमा प्रयोग गर्न थालेका छन्।
सर्चको प्रयोग बढ्दै जाँदा टिकटकले प्रयोगकर्ताको सुरक्षामा पनि ध्यान दिएको जनाएको छ। संवेदनशील वा जोखिमयुक्त विषयहरू खोज्दा प्रयोगकर्तालाई आधिकारिक र विश्वसनीय स्रोततर्फ मार्गदर्शन गर्न 'सर्च इन्टरभेन्सन' (Search Interventions) फिचर लागू गरिएको छ। यस अन्तर्गत मानसिक स्वास्थ्य, प्राकृतिक प्रकोप, वा यौन दुर्व्यवहार जस्ता विषय खोज्दा प्रयोगकर्ताले स्थानीय हेल्पलाइन र सुरक्षा केन्द्रको जानकारी प्राप्त गर्नेछन्।
टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदले भने, "नेपालमा हाम्रो कम्युनिटीले वास्तविक मानिसहरूबाट प्रेरणा लिन र छिटो जानकारी पाउन टिकटक सर्चलाई स्वाभाविक सुरुवाती बिन्दुका रूपमा प्रयोग गरिरहेको छ।"
त्यस्तै, दक्षिण एशियाकी क्षेत्रीय ट्रस्ट एण्ड सेफ्टी लिड आस्मा अन्जुमले टिकटकको सर्च फिचर 'सेफ्टी-बाई-डिजाइन' अवधारणामा आधारित रहेको र यसले प्रयोगकर्तालाई जिम्मेवार मार्गदर्शन प्रदान गर्ने बताए।
पछिल्लो एक वर्षमा नेपालमा #LearnOnTikTok, #TravelTok, र #FoodTok जस्ता ह्यासट्यागहरूमा आधारित सर्चहरू उल्लेखनीय रूपमा बढेका छन्। यसले नेपालमा सूचना प्राप्त गर्ने र सिक्ने डिजिटल बानीमा ठूलो परिवर्तन आइरहेको संकेत गर्दछ।

पुष २५, २०८२ शुक्रबार १६:५६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।