ग्रिनल्याण्ड विवादमा ट्रम्पको धम्कीपछि डेनमार्कको आदेश- ‘आक्रमण भए आदेश नकुर्नु, सीधै गोली ठोक्नु’
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमाथि कब्जा जमाउने धम्की दिएपछि डेनमार्कले निकै कडा नीति अपनाएको छ।
डेनमार्कको रक्षा मन्त्रालयले यदि कुनै विदेशी शक्तिले आफ्नो भूभागमा आक्रमण गरेमा डेनिस सैनिकहरूले कमाण्डरको आदेश नकुरी तत्काल जवाफी कारबाहीस्वरूप गोली चलाउने स्पष्ट पारेको छ।
डेनमार्कको रक्षा मन्त्रालयले सन् १९५२ मा बनेको नियमलाई उद्धृत गर्दै यस्तो चेतावनी दिएको हो। सन् १९४० मा जर्मनीले डेनमार्कमा आक्रमण गर्दा सञ्चार सम्पर्क विच्छेद भएर सैनिकहरू अलमलमा परेका थिए।
सोही घटनाबाट पाठ सिक्दै सन् १९५२ मा नयाँ नियम बनाइएको थियो, जसअनुसार विदेशी आक्रमण भएको अवस्थामा सैनिकले सिनियर अधिकारीको आदेश पर्खिनु पर्दैन, उनीहरूले स्वतः प्रतिकार गर्नुपर्छ। डेनमार्कले उक्त नियम आज पनि लागू रहेको बताएको छ।
रुसी र चिनियाँ जहाजहरूको गतिविधिका कारण ग्रिनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण रहेको ट्रम्पको दाबी छ। सन्धि वा लिज (भाडा) मा मात्र नभई अमेरिकालाई ग्रिनल्याण्डमा पूर्ण नियन्त्रण चाहिएको उनले बताएका छन्।
अमेरिकी मिडियाका अनुसार ह्वाइट हाउसले ग्रिनल्याण्ड नियन्त्रण गर्न सैन्य बल प्रयोगसहितका विकल्पहरू खोजिरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि ग्रिनल्याण्डको सुरक्षालाई गम्भीरतापूर्वक नलिइए अमेरिकाले 'केही गर्नुपर्ने' चेतावनी दिएका छन्।
डेनमार्कको चेतावनी: ‘नेटो समाप्त हुनेछ’
डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकालाई चेतावनी दिँदै भनेकी छन्, ‘यदि अमेरिकाले कुनै नेटो सहयोगी राष्ट्रमाथि सैन्य आक्रमण गर्छ भने त्यसले नेटोको अन्त्य गर्नेछ र दोस्रो विश्वयुद्धपछिको सुरक्षा व्यवस्था ध्वस्त हुनेछ।’
युरोपेली देशहरूले पनि ग्रिनल्याण्डका जनताको अधिकारको पक्षमा वकालत गर्दै ट्रम्पको भनाइको विरोध गरेका छन्।
सन् १९५१ को रक्षा सम्झौताअनुसार अमेरिकाले ग्रिनल्याण्डमा पहिलेदेखि नै धेरै छुट पाएको छ। त्यहाँ अमेरिकाको ‘पिटुफिक स्पेस बेस’ सञ्चालनमा छ, जहाँबाट मिसाइल ट्र्याकिङ र अन्तरिक्ष निगरानी गरिन्छ।
विज्ञहरूका अनुसार अमेरिकाले त्यहाँ चाहेको धेरै कुरा गर्न सक्छ, तर ग्रिनल्याण्डलाई किन्ने वा कब्जा गर्ने कुरा नितान्त फरक हो। ग्रिनल्याण्डका ५७ हजार बासिन्दा र त्यहाँको सरकारले ‘हाम्रो देश बिक्रीमा छैन’ भन्दै विरोध जनाएका छन्।
युरोप र अमेरिकाको बीचमा पर्ने भएकाले यो भूमि भौगोलिक रणनीतिक हिसाबले अमेरिकाका लागि निक्कै महत्त्वपूर्ण छ। यसका साथै यहाँ भएको दुर्लभ खनिज, तेल, ग्यास र रेयर अर्थ एलिमेन्ट्सको ठूलो भण्डार भएकाले पनि अमेरिका यो भूमि चाहन्छ।
हाल दुर्लभ खनिज, तेल, ग्यास र रेयर अर्थ एलिमेन्ट्सको सबैभन्दा ठूलो हिस्सा चीनसँग छ। अमेरिकाले चीनमाथि कुनै प्रतिबन्ध लगाउँदा चीनले ती दुर्लभ खनिजको आपूर्तिमा रोक लगाइदिन्छ, जसले अमेरिकाको डिफेन्स सिस्टमको काम नै प्रभावित हुने गर्छ।
अमेरिका चीनसँग त्यो दबदबा नहोस् भन्ने चाहन्छ, त्यो शक्ति आफूमा निहीत गर्नका लागि प नि अमेरिकका लागि ग्रिनल्यान्ड महत्त्वको स्थान हो।
यसका अलावा आर्कटिक क्षेत्रमा रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिका यहाँ आफ्नो पकड बलियो बनाउन चाहन्छ।
पुष २५, २०८२ शुक्रबार १४:०२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।