सञ्जय दत्तलाई भेटेपछि प्रचण्डले भने- ‘मुन्ना भाइ एमबीबीएस’ फिल्मको फ्यानै हुँ
काठमाडौं : नेपाल भ्रमणमा रहेका चर्चित बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
भेटपछि सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रचण्डले सञ्जय दत्तसँगको भेट निकै अविष्मरणीय रहेको उल्लेख गरेका छन्। उनले आफू सञ्जय दत्तको अभिनय, विशेषगरी ‘मुन्ना भाइ एमबीबीएस’ चलचित्रको प्रशंसक रहेको समेत खुलाएका छन्।
प्रचण्डले लेखेका छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। मुन्ना भाइ एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो।’
मुन्ना भाइ एमबीबीएस फिल्म सन् २००३ मा रिलिज भएको थियो। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्ममा सञ्जयसँगै सुनिल दत्त, बोमन इरानी, अरसद वारसी, ग्रेसी सिंह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
साथै, अध्यक्ष प्रचण्डले अभिनेता दत्तको नेपाल बसाइ सुखद र आनन्ददायी होस् भन्ने कामना समेत गरेका छन्। क्यासिनो उद्घाटनका लागि सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। उनी आजै भारत फर्कँदैछन्।
पुष २५, २०८२ शुक्रबार १३:१८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।