गायक पूर्णबहादुरको हिजोका कुरा : ‘भोको पेटले गीत गाइँदैन’ भनेर बन्दुक समाएँ, जातले नछेकेको बढुवा सर्टिफिकेटले रोक्यो

गायक पूर्णबहादुरको हिजोका कुरा : ‘भोको पेटले गीत गाइँदैन’ भनेर बन्दुक समाएँ,  जातले नछेकेको बढुवा सर्टिफिकेटले रोक्यो

काँधमा देशको सुरक्षा गर्ने जिम्मेवारी बोकेको बर्दी। मनमा भने गाउँघरको उकाली-ओराली सुसाउने लोकभाका।

ओखलढुङ्गाको कुवापानीबाट तीन दिनको पैदल यात्रा छिचोलेर २८ सालमा काठमाडौं टेक्दा पूर्णबहादुर नेपालीसँग साङ्गीतिक सपना त थियो, तर त्योभन्दा ठुलो पीर ‘पेट’को थियो।

‘भोको पेटले गीत गाइँदैन’ भन्ने कठोर यथार्थ बुझेरै उनी कलिलो उमेरमा प्रहरीको जागिरे भए।

तर, ब्यारेकको कडा अनुशासन र बुटको टक्-टक् आवाजले पनि उनको भित्रको कलाकारलाई दबाउन सकेन। परिणामतः एकातिर प्रहरीको ड्युटी चलिरह्यो, अर्कोतिर रेडियो नेपालमा स्वर गुञ्जिरहे।

जीवनको ७१औं खुड्किलोमा उभिँदा पूर्णबहादुरले पछाडि फर्केर हेर्दा एउटा रङ्गीन इतिहास देखिन्छ- जहाँ छ बाल्यकालको अभाव, सङ्घर्ष, ‘सौतेनी आमा’को पीडा अनि सफलताको मुस्कान पनि।

तत्कालीन ३ नम्बर ओखलढुङ्गादेखि काठमाडौंसम्मको यो रोमाञ्चक अनुभव उनले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी पोखे:

१८ महिनामै गुमाएँ आमाको काख, अभावले सिकायो सङ्घर्ष
मेरो जन्म वि.सं. २०११ सालमा ओखलढुङ्गाको कुवापानी गाउँ (तत्कालीन ३ नम्बर क्षेत्र) मा भएको हो। जीवनको सुरुवातमै नियतिले ममाथि ठुलो बज्रपात गर्यो- म १८ महिनाको दूधे बालक छँदै आमाले यो संसार छोड्नुभयो।

आमाको न्यानो काख गुमाएको पीडा त छँदै थियो, बुबाले कान्छी आमा भित्र्याएपछि घरको वातावरण फेरियो। आफ्नी आमा भएको भए सायद कलम र कापीसँगको नाता गाढा हुन्थ्यो होला, तर परिस्थितिले मलाई काम र जिम्मेवारीको पाठ छिट्टै पढायो।

बिहान आँखा खुल्नासाथ घरधन्दा र मेलापातको चटारो हुन्थ्यो। काम सकेर हस्याङफस्याङ गर्दै स्कुल पुग्थेँ, फर्किनासाथ फेरि कामकै बोझ। न टिफिनको बट्टा, न खाजाको जोहो। बिहान भुटेको मकै वा कोदोको रोटीले पेट भरियो भने भरियो, नत्र एकैचोटि बेलुकाको भान्सा कुर्नुपर्थ्यो।

त्यतिबेला कोदोको रोटी खाँदा ‘कहिले सेतो चामलको भात खान पाइएला’ भन्ने तिर्सना लाग्थ्यो। समयको चक्र हेर्नुस् त, आज मान्छेहरू स्वास्थ्यका लागि त्यही कोदो खोज्दै हिँड्छन्। अभावमै सही, त्यो बेलाको अर्गानिक खानाले शरीरलाई भने बलियो बनाएको रहेछ।

शनिबारे हाटको त्यो साङ्गीतिक माहोल
हाम्रो पालामा मनोरञ्जनको दुनियाँ बेग्लै थियो। न हातमा मोबाइल, न घरमा टेलिभिजन। गाउँको शनिबारे हाटबजार नै हाम्रो संसार थियो। त्यहाँ किनमेल मात्र होइन, सुख-दुःख साटासाट हुन्थ्यो, लोकभाका गुञ्जिन्थ्यो।

​​​​​​​म सानै भए पनि दाजु-दिदीहरूको भाकामा स्वर मिसाएर गाउन तम्सिहाल्थेँ। चाडपर्व र मेलापातमा गाउँलेले गाउने गीत नै मेरो सङ्गीत विद्यालय बन्यो।

गाउँमा स्वर त खुल्यो, तर भविष्य खोज्न शहर पस्नैपर्ने भयो। वि.सं. २०२८ सालमा, कलिलो उमेरमा सपनाको भारी बोकेर म काठमाडौं हिँडेँ।

​​​​​​​त्यतिबेलाको यात्रा अहिलेको जस्तो सहज थिएन। रोशीखोलाको किनारैकिनार, धुलिखेल र बनेपा हुँदै तीन दिन पैदल हिँडेपछि बल्ल मोटर चढ्न पाइन्थ्यो।

बाटाभरि बटुवाहरूको लस्कर हुन्थ्यो। न लुटपाटको डर, न अपरिचितको भय। बास बस्ने जक्सनहरूमा आ-आफ्नै सातु-सामल झिकेर खाइन्थ्यो। त्यो पैदल यात्राको थकानमा पनि एक किसिमको आत्मीयता र मीठास थियो।

भोको पेटकै कारढ बन्दुक समाएँ
शहर त छिरेँ, तर यहाँ रहरले मात्र नबाँचिने रहेछ। ‘भोको पेटले गीत गाइँदैन’ भन्ने कठोर सत्य बुझेपछि मैले नेपाल प्रहरीमा सिपाहीको जागिर खाएँ।

तर, बर्दी र कडा अनुशासनभित्र पनि मेरो मनको गायकी मरेन। ब्यारेकमा रहँदा पनि म गुनगुनाइरहन्थेँ। सायद त्यो मेरो साधना थियो। संयोगले हवल्दार सुन्दर श्रेष्ठले मेरो स्वर चिन्नुभयो र रेडियो नेपालसम्म पुग्ने बाटो देखाइदिनुभयो।

त्यतिबेला रेडियो नेपालको ‘भ्वाइस टेस्ट’ पास गर्नु फलामको चिउरा चपाउनु सरह थियो। तर, वि.सं. २०३२ सालमा मैले त्यो परीक्षा पास गरेँ र ‘हेर न फर्केर यता’ बोलको गीत रेकर्ड गराएँ।

​​​​​​​​​​​​​​

​​​​​​​एकातिर राष्ट्रसेवकको जिम्मेवारी, अर्कोतिर कलाकारिताको भोक- समय मिलाउन हम्मेहम्मे पर्थ्यो। कतिपय सुनौला अवसरहरू ड्युटीको समयसँग जुधेर गुमे। तर, जति गाएँ, मनैदेखि गाएँ।

अहिले सुन्दा अचम्म लाग्न सक्छ, त्यतिबेला रेडियो नेपालले एउटा गीत गाएबापत २० रुपैयाँ दिन्थ्यो। तर, त्यो २० रुपैयाँको मूल्य आजको हजारौँभन्दा बढी थियो।

पाँच पैसामा चिया र पाँच पैसामा बाक्लो पाउरोटी पाइने जमाना थियो त्यो। त्यो कमाइले साथीभाइलाई चियानास्ता खुवाउँदा जुन आनन्द आउँथ्यो, त्यो पैसामा कहाँ दाँज्न सकिन्छ र! हामी पैसा कमाउन होइन, नाम कमाउन र आत्मसन्तुष्टिका लागि गाउँथ्यौँ।

‘सौतेनी आमा’ ले रुवाएको क्षण
मेरो साङ्गीतिक जीवनको सबैभन्दा स्मरणीय मोड वि.सं. २०४४ सालमा आयो।

बाल्यकालमा भोगेको पीडा र आँसुलाई समेटेर मैले ‘सौतेनी आमाको छोराको कर्म’ बोलको गीत रेकर्ड गराएँ। त्यो गीत गीत मात्र थिएन, मेरो आफ्नै मुटुको स्पन्दन थियो।

त्यो गीत बज्दा कति श्रोता भकानिए, कतिले म त्रिपुरेश्वर चौकीमै आएर आँसु पुछे। आफ्नो वेदना गीतमा पोख्न पाउँदा मन हलुका भयो।

रेडियो नेपालमा गीत गाएको १२ वर्षपछि मेरो घाँटीमा समस्या आयो अनि गायन छुट्यो। त्यसपछि मात्रै म टेलिभिजनको पर्दामा ‘प्रहरी अनुरोध’ मार्फत अभिनयमा जोडिएँ।

सोही देखेर कतिपय निर्देशकहरूले मलाई उहाँहरूको सिरियलमा पनि अभिनय गराउनुभयो।

त्यतिबेला ‘प्रहरी अनुरोध’ कार्यक्रममा नेपाल प्रहरीका सिपाहीहरूले इन्पेक्टर,डिएसपी लगायतको भूमिकामा अभिनय गर्न पाउँदैनथे। हेडक्वाटरबाट अनुमति लिनुपर्थ्यो। बाहिरको त खासै मतलब हुँदैनथ्यो।

सर्टिफिकेटको अभाव र ३२ बर्से सेवा
पढाइको महत्त्व कति हुन्छ भन्ने कुरा जागिर खाएपछि झन् प्रष्ट भयो। ‘आइए’ पासको सर्टिफिकेट नहुँदा ३२ वर्ष सेवा गरेर पनि म असई (प्रहरी सहायक निरीक्षक) बाटै बिदा भएँ। अनुभव जतिसुकै होस्, प्रमाणपत्र नहुँदा पद बढ्दो रहेनछ।

सईभन्दा माथिल्लो पदमा जानका लागि विशेष तालिम लिनुपर्ने हुन्थ्यो,त्यो मेरो स्वास्थ्यले पनि साथ दिएन। तर, देशको सेवा गर्न पाएकोमा कुनै पछुतो छैन।

म आफैँमा दलित हुँ तर मलाई एउटा कुरामा के गर्व लाग्छ भने मेरो बाल्यकाल र जागिरे जीवनमा मैले छुवाछुतको विभेद कहिल्यै भोग्नु परेन। स्कुलमा पढ्दा त गुरुले ‘जसले जान्दछ, उसले नजान्नेको कान मोल्नु’ भन्नुहुन्थ्यो।

पढाइमा अब्बल भएकाले मैले गाउँका मुखिया र कप्तानका छोराहरूको कान मज्जाले बटारेको छु। विद्या र ज्ञानले जातभन्दा माथिको स्थान राख्थ्यो। प्रहरी सेवामा रहँदा पनि कानुनको पालना गराउँदा जात कहिल्यै पर्खाल बनेन।

जीवनका यी उकाली-ओरालीहरू सम्झँदा लाग्छ- संघर्ष नै जीवनको असली रंग रहेछ।

पुष २५, २०८२ शुक्रबार १०:४४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।