ओलीको गृहजिल्लामा साढे ७ हजार सुरक्षाकर्मी खटाइने, एक तिहाइ मतदानस्थल ‘अति संवेदनशील’

ओलीको गृहजिल्लामा साढे ७ हजार सुरक्षाकर्मी खटाइने, एक तिहाइ मतदानस्थल ‘अति संवेदनशील’

झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा सुरक्षा व्यवस्था कडा पारिने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भएका कारण पनि झापाको निर्वाचनलाई राष्ट्रिय चासोका साथ हेरिएको छ। यही संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लामा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीसहितको एकीकृत सुरक्षा फौज परिचालन गरिनेछ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार कुल सुरक्षाकर्मीमध्ये ठूलो हिस्सा म्यादी प्रहरीको रहनेछ।

जिल्लामा यसपटक ४ हजार ७४८ जना म्यादी प्रहरी (निर्वाचन प्रहरी) परिचालन गरिनेछ। यसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया सुरु भइसकेको छ।

म्यादी प्रहरीमा भर्ना हुन चाहनेले पुस २५ देखि माघ ५ गतेसम्म दरखास्त दिन सक्नेछन्।

भदौ २३ मा भएको जेनजी आन्दोलनमा विद्यार्थीमाथि गोली चलाउँदा प्रधानमन्त्री भएका केपी ओलीको गृहजिल्ला भएकाले यहाँको राजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीलाई विशेष रूपमा लिइएको छ। सुरक्षा निकायले गरेको विश्लेषणअनुसार जिल्लाका एक तिहाइ मतदानस्थल अति संवेदनशील सूचीमा छन्।

झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र तोकिएका छन्। जसमध्ये अति संवेदनशील ९५ मतदानस्थल र २७१ मतदान केन्द्र रहेका छन् भने संवेदनशीलमा १४७ मतदानस्थल र ३९० मतदान केन्द्र छन्।

प्रशासनले सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र केन्द्रहरूको वर्गीकरण गरेको हो। अघिल्लो निर्वाचनको तुलनामा यसपटक झापामा ४९ वटा मतदान केन्द्र थपिएका छन्।

जिल्ला प्रशासनले अति संवेदनशील क्षेत्रमा विशेष निगरानी र बाक्लो सुरक्षा उपस्थिति रहने जनाएको छ।

पुष २५, २०८२ शुक्रबार ०७:३३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।