कांग्रेसमा किचलो : विशेष महाधिवेशनप्रति संस्थापन समूह नरम, चेतावनीबाट ओर्लियो अनुरोधमा

कांग्रेसमा किचलो : विशेष महाधिवेशनप्रति संस्थापन समूह नरम, चेतावनीबाट ओर्लियो अनुरोधमा

काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन समितिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ। पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ र २८ का लागि विशेष महाधिवेशन तोकेर तयारी भइसकेको अवस्थामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णयमा महामन्त्री गगन थापा र नेता फरमुल्ला मन्सुरले भने असहमति जनाए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा बैठकमा उपस्थित थिएनन्। कार्यसम्पादन समितिमा पार्टीको संस्थापनपक्षको बहुमत छ। सोही बहुमतका आधारमा पेल्दै यस अगाडि पुस अन्तिमका लागि तोकेको नियमित महाधिवेशनको मिति वैशाख पुर्याइएको थियो।

विधान अनुसार ४० प्रतिशत महासमिति सदस्यहरूले मागेको अवस्थामा विशेष महाधिवेशन गर्नैपर्ने बाध्यात्मक प्रावधान अनुसार भृकुटीमण्डपमा पुस २७ र २८ मा विशेष महाधिवेशन गर्न बिहीबारबाट मञ्च बनाउने काम सुरु भइसकेको छ। उता विशेष महाधिवेशनलाई प्रभावित पार्न त्यही दिन पारेर संस्थापन समूहले युवा भेला राखेका छन्।

विवाद समाधान गर्न भन्दै बिहीबार पार्टी कार्यालयमा आकस्मिक रूपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशन कुनै व्यक्तिले बोलाउन नसक्ने भन्दै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधवार जारी गरेको विज्ञप्तिलाई पार्टीले अपनत्व लिने निर्णय समेत गर्यो। 

संस्थापन पक्ष विशेष महाधिवेशन हुन नदिने र विशेष महाधिवेशनको मागकर्ताहरू जसरी पनि विशेष महाधिवेशन गर्ने रणनीतिमा अडिग हुँदा पार्टी विभाजन हुनसक्ने भन्दै शेखर कोइरालासहितका केही नेता समस्या समाधानको पहलका लागि सभापति शेरबहादुर देउवासँग छलफलमा बसे पनि उनले चासो देखाएका छैनन्।

दुई महामन्त्री थापा र शर्माले विज्ञप्ति निकालेर महाधिवेशनको आव्हान गरेका छन् भने उनीहरू समर्थित विभिन्न जिल्ला समितिहरूले समेत विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति नै निकालेर सहभागी हुन आव्हान गरिरहेका छन्। संस्थापन समूहले जवर्जस्ती विशेष महाधिवेशन गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिइरहेका छन्। तर पार्टी बिहीबारसम्म अनुरोधकै चरणमा रहेको देखिन्छ।

पुष २४, २०८२ बिहीबार १९:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।