बालेनमाथि अभियन्ताको आरोप : दुई जना केन्द्रीय सदस्य बन्न 'लौरो चिन्ह'कै सौदाबाजी गरियो

बालेनमाथि अभियन्ताको आरोप : दुई जना केन्द्रीय सदस्य बन्न 'लौरो चिन्ह'कै सौदाबाजी गरियो

काठमाडौं : लौरो अभियान, स्वतन्त्र अभियान तथा जेनजी अभियानले ‘लौरो’ चुनाव चिन्हको राजनीतिक सौदाबाजी भएको आरोप लगाउँदै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह 'बालेन' र ‘देश विकास पार्टी’लाई एक साताभित्र उक्त चिन्ह फिर्ता गर्न अल्टिमेटम दिइयो। 

बिहीबार काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा अभियन्ताहरूले लौरो चिन्ह कुनै अमुक दल वा व्यक्तिको निजी सम्पत्ति नभई स्वतन्त्रहरूको साझा धरोहर रहेको जिकिर गर्दै, तोकिएको समयमा फिर्ता नभए मेयर बालेनको निवास र पार्टी कार्यालय घेराउ गर्ने चेतावनी दिए। 

वक्तव्यमा भनिएको छ, “निजी स्वार्थका आधारमा, दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले लौरो चुनाव चिन्ह नै सौदाबाजी गरी पार्टीको नाम परिवर्तन गर्दै ‘देश विकास पार्टी’ बनाएको गम्भीर तथ्य हाम्रो सामु आएको छ।”

अभियन्ताहरूले मेयर बालेन र तत्कालीन ‘हाम्रो नेपाली पार्टी’ (हाल देश विकास पार्टी)का पदाधिकारीले लौरो चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि ‘बार्गेनिङ’को साधन बनाएको आरोप लगाए। स्वतन्त्र उम्मेदवारहरूले साझा चिन्ह प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले मात्र निर्वाचन आयोगमा दर्ता गरिएको उक्त पार्टीलाई अध्यक्ष अनन्तराज घिमिरे र प्रवक्ता रोहन कार्कीले एकलौटी ढंगले चलाएको उनीहरूको दाबी छ। 

कुनै छलफल वा सहमति बिना नै दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने लोभमा पार्टीको नाम परिवर्तन गरी ‘देश विकास पार्टी’ बनाइएको र यसमा मेयर बालेनले समेत मौन समर्थन जनाउँदै राजनीतिक लाभ लिएको अभियन्ताहरूको निष्कर्ष छ। बालेन र उनको टिमले दलगत अभ्यास गर्न थालेपछि चिन्हमाथिको उनीहरूको नैतिक अधिकार समाप्त भएको अभियानको निष्कर्ष छ। 

वक्तव्यमा भनिएको छ, “काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश नगर्दासम्म स्वतन्त्र लौरो अभियानका एक स्टेकहोल्डर थिए । तर जब उनी र उनको टिमले दलगत राजनीतिमा प्रवेश गरे, त्यस क्षणदेखि ‘लौरो चुनाव चिन्ह’ उनको वा उनको समूहको रहन सक्दैन । किनकि लौरो भनेको स्वतन्त्रहरूको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्र राजनीतिक आन्दोलनको मन्दिर हो। त्यसैले, वर्तमान अवस्थामा बालेन्द्र शाह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट माग छ।”

अभियानले गत निर्वाचनमा संघ र प्रदेश तहमा गरी देशभरका ३६७ जना स्वतन्त्र उम्मेदवारले ‘लौरो’ चिन्ह प्रयोग गरेको तथ्यांक प्रस्तुत गरेको छ। उनीहरूका अनुसार यो चिन्ह दलगत राजनीतिबाट दिक्क भएका नागरिकहरूको आशा, विकल्प र प्रतिरोधको प्रतीक हो।

साथै, निर्वाचन आयोगले तत्कालीन हाम्रो नेपाली पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर सनाखत नै नगरी पार्टीको नाम परिवर्तन गरिदिएको भन्दै अभियान्ताहरुले आयोगको उक्त प्रक्रियालाई समेत अवैधानिक र शंकास्पद मानेका छन्। एक साताभित्र लौरो चिन्ह स्वतन्त्र समूहलाई आधिकारिक रूपमा हस्तान्तरण नगरिए सङ्घर्षमा उत्रिने उनीहरूले चेतावनी दिए।

पुष २४, २०८२ बिहीबार १८:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।