नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भयो। अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुग्यो।
बिहीबार सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले बढोत्तरी भयो। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घट्यो।
बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार सान्भि इनर्जी लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढ्यो। त्यस्तै, एसवाई प्यानल नेपालको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भयो। अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ भने मूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम देखियो।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको बिहीबार २० करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटे। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूह सकारात्मक देखिएका छन्।
पुष २४, २०८२ बिहीबार १६:५५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।