माओवादी युवा नेता रहबर अन्सारीले छाडे पार्टी

माओवादी युवा नेता रहबर अन्सारीले छाडे पार्टी

काठमाडौं : माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गरे। हुलाकमार्फत राजीनामा बुझाउँदै उनले पार्टी नेतृत्व र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै विद्रोहको घोषणा गरे।

अन्सारीले नेतृत्वमा विचलन आएकोले आफै त्यसको हिस्सा नबन्ने भने। 'सागर के तुफान को भी हमने बस में किया है...' गीत स्मरण गराउँदै उनले पार्टीले 'साहस, इमान र जोखिम' त्यागिसकेको दाबी गरे। पार्टीले आफ्नो आधारभूत पहिचान र क्रान्तिकारी चरित्र गुमाएको उनको दाबी छ। 

राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, "साहस, इमान र जोखिम: तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दाबाद भन्दै बिदा लिन्छु।"

प्रचण्डले माधव नेपाल लगायत वामपन्थी घटकका नेताहरूसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेको केही महिनापछि उनले पार्टी परित्यागको निर्णय सार्वजनिक गरे। केही समयअघि मधेस प्रदेश सभामा उनले गरेको विद्रोहको कारण मधेसमा जितेन्द्र सोनल नेतृत्वको सरकार ढल्न पुगेको थियो।

नेतृत्वमाथि अभियोग पत्रको जस्तो झल्को दिने गरी राजीनामा दिएका अन्सारीले आफ्ना असन्तुष्टिलाई राजीनामाको बोधार्थमा समेटेका छन्।

पुष २४, २०८२ बिहीबार १६:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।