‘घण्टी बज्यो, फोन पनि उठ्यो; तर आवाज...’
चौतारा : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ का २२ वर्षीय योगबहादुर श्रेष्ठका आँखाहरूमा सपनाको पहाड थियो र काँधमा जिम्मेवारीको भारी।
तीन वर्षअघि गाउँको उच्च माविबाट पढाइ सकेर आत्मनिर्भर बन्ने हुटहुटी बोकी काठमाडौं छिरेका थिए उनी। स्नातक तहको पढाइका साथै वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक माल्टा जाने तयारीमा पनि थिए।
तर, गत भदौ २३ र २४ गते काठमाडौंको सडकमा उर्लिएको जेनजी आन्दोलनको रापमा उनको सपना मात्र डढेन, इहलीला नै सकियो।
दाजु रामकृष्ण श्रेष्ठका लागि भाइ योगबहादुर केवल भाइ मात्र थिएनन्, पारिवारिक समृद्धिको सारथी पनि थिए। हरेक दिनजसो फोनमा हुने उनीहरूको संवादमा घरको उन्नति र भविष्यका योजनाहरू बुनिन्थे।
भदौ २४ गते पनि रामकृष्णले दिउँसो २ बजे भाइको हालखबर बुझ्न फोन गरे। घण्टी बज्यो, फोन पनि उठ्यो। तर, उताबाट आएको आवाज योगबहादुरको थिएन।
‘अर्को एक जना अपरिचित व्यक्तिले फोन उठाएर तपाईंको मान्छेलाई गोली लागेको छ, एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ भनेपछि मेरो होसहवास उड्यो,’ रामकृष्णले गहभरि आँसु पारे, ‘हामी अत्तालियौँ। रातभर काठमाडौंका अस्पताल-अस्पताल चहार्यौँ। कतै घाइतेका सूचीमा त कतै बेवारिसे शवका बीचमा भाइलाई खोज्यौँ। अन्त्यमा, त्रिवि शिक्षण अस्पतालको शवगृहमा भाइको शरीर भेटियो।’
भ्रष्टाचारमुक्त देशको चाहना
योगबहादुर कुनै राजनीतिक दलको कार्यकर्ता थिएनन्। न त उनीसँग कुनै राजनीतिक महत्वाकांक्षा नै थियो। उनी त केवल देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सुरु गरेको स्वतस्फूर्त आन्दोलनमा ऐक्यबद्धता जनाउन सडकमा निस्किएका थिए।
भदौ २३ गते सरकारलाई खबरदारी गर्ने क्रममा भएको झडपमा प्रहरीको गोलीबाट थुप्रै युवा ढलेपछि त्यसको विरोधमा भोलिपल्ट देशभर प्रदर्शन चर्किएको थियो।
पुतलीसडकमा फूपुको घरमा बस्दै आएका योगबहादुर पनि त्यही भिडमा मिसिन पुगे। गौशाला चोक नजिकै उनको कोखामा प्रहरीको गोली लाग्यो। देशलाई भ्रष्टाचारमुक्त बनाउने सपना बोकेको एउटा युवा आफैं शहीद बनेर ढल्यो।
‘भ्रष्टाचारमुक्त देश माग्दा भाइले ज्यान गुमाउनुपर्यो,’ दाजु रामकृष्ण भक्कानिन्छन्, ‘भाइको मृत्युले सिङ्गो परिवार मर्माहत छ। तर, त्योभन्दा बढी चिन्ता उसको बलिदान खेर जाने हो कि भन्ने कुराले पिरोलेको छ।’
गाउँमा छँदा योगबहादुरको परिचय एउटा सहयोगी र सेवाभावी युवाको रूपमा थियो। विपन्न नागरिकले उपचार नपाएर अकालमै ज्यान गुमाएका घटनाले उनलाई सधैं घोचिरहन्थ्यो। सायद त्यही विद्रोही चेतले उनलाई काठमाडौंको सडकमा पुर्याएको थियो।
बुबा तिलकबहादुर र आमा देवीमायाका कान्छा छोरा योगबहादुर आमाबुबालाई खुसी र सुखी राख्ने सपना देख्थे। तर, विडम्बना! बुढेसकालको सहारा बन्लान् भनेर हुर्काएको छोराको शव बुझ्न आमाबुबा नै काठमाडौं धाउनुपर्यो।
बलिदानको मूल्य र नयाँ आशा
जेनजी आन्दोलनको जगमा उभिएको वर्तमान सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेको छ।
सरकारले आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ घोषणा गर्दै परिवारलाई १५ लाख रुपैयाँ राहत प्रदान गरेको छ। साथै, सहिद परिवारलाई रोजगारी र मासिक भत्ता दिने योजना पनि अघि सारिएको छ।
तर, दाजु रामकृष्णको भनाइमा यो बलिदान केवल राहत र भत्ताका लागि थिएन।
‘यति ठूलो बलिदान पुरानै दल र नेतालाई सत्तामा फर्काउनका लागि होइन,’ उनी दृढतापूर्वक भन्छन्, ‘अबको निर्वाचनबाट नयाँ शक्ति र सोच उदाउनुपर्छ। देशले मुहार फेर्नुपर्छ। तब मात्र मेरो भाइ र उस्तै अन्य सहिदहरूको आत्माले शान्ति पाउनेछ।’
माल्टा जाने तयारीमा रहेका योगबहादुर अब कहिल्यै फर्कने छैनन्। तर, उनले रगतले लेखेको सुशासनको अध्यायले देशलाई कुन बाटोमा डोर्याउँछ, त्यो भने हेर्न बाँकी छ।
रुपक पुरी/रासस
पुष २४, २०८२ बिहीबार १५:०१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।