आईसीटी सीप विकासमा योगदान गरेको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित
काठमाडौं : नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सीप विकास र दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसका पदाधिकारीलाई सम्मान गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) को दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुरमा आयोजित समारोहमा श्रममन्त्री राजेन्द्र सिंह भण्डारी लगायतले सम्मान प्रदान गरे।
समारोहमा क्यान महासंघलाई संस्थागत सम्मान प्रदान गरिनुका साथै महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी र महासचिव चन्द्र विलास भुर्तेललाई व्यक्तिगत रूपमा प्रशंसा-पत्र प्रदान गरियो।
अधिकारीलाई व्यावसायिक आईसीटी प्रशिक्षणको जग बसाल्न नेतृत्वदायी भूमिका खेलेकोमा र भुर्तेललाई पाठ्यक्रम मस्यौदामा योगदान गरेकोमा सम्मानित गरिएको हो।
क्यानका वरिष्ठ उपाध्यक्ष अधिकारीले अघि सारेको ‘हातमै सीप’ अवधारणा र महासंघले एनएभीटीसँगको सहकार्यमा तयार पारेका रोजगारमूलक पाठ्यक्रमहरूले यस सम्मानको आधार तयार गरेको बताइएको छ।
क्यान महासंघले आगामी दिनमा पनि सरकारसँग मिलेर डिजिटल जनशक्ति उत्पादनमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
पुष २४, २०८२ बिहीबार १३:३०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।