मेडिकल काउन्सिलको वेबसाइट ह्याक गर्ने युवकविरुद्ध मुद्दा, गरेका थिए ओली र लेखकमाथि कारबाहीको माग

मेडिकल काउन्सिलको वेबसाइट ह्याक गर्ने युवकविरुद्ध मुद्दा, गरेका थिए ओली र लेखकमाथि कारबाहीको माग

काठमाडौं : गत असोज २६ गते नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइट ह्याक भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीय एक युवकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

झापाको दमक नगरपालिका-९ घर भएका २० वर्षीय बिकास पौडेललाई प्रहरीको साइबर ब्युरोले सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टबाट पक्राउ गरी अनुसन्धान पश्चात सरकारी वकिल कार्यालयमार्फत मुद्दा चलाएको हो।

भएको के थियो?
असोज २६ गते दिउँसो २ बजेतिर अचानक मेडिकल काउन्सिलको वेबसाइट ह्याक भयो। ह्याकरले वेबसाइटको ‘होम पेज’ नै परिवर्तन गरेर एउटा ब्यानर राखे।

उक्त ब्यानरमा जेनजी आन्दोलनका क्रममा सरकारको बर्बर दमनमा मारिएका युवाहरूलाई न्यान दिनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गरिएकको थियो।

उक्त ब्यानरमा लेखिएको थियो- ‘सीएमडी नेपाल। न्यायको माग, हामी चुप बस्दैनौं। नेपालमा निर्दोष विद्यार्थीहरूको रगत बग्यो, तर अपराधीहरू- केपी ओली र रमेश लेखक अझै सास फेर्दै घमण्डले बाँच्दै छन्।’

वेबसाइट ह्याक भएपछि काउन्सिलले तत्काल प्रहरीको साइबर ब्युरोलाई खबर गरेको थियो। सुरुमा काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डाटा सुरक्षित रहेको बताए पनि प्रहरी अनुसन्धानबाट भने ठूलो मात्रामा डाटा चोरी भएको खुलेको छ।

प्रहरीको फरेन्सिक जाँच र अभियोग पत्रका अनुसार ह्याकरले काउन्सिलको सर्भरमा अनधिकृत पहुँच पुर्याएर डाक्टरहरूको व्यक्तिगत विवरणहरू चोरी गरेका थिए।

७.६ जीबी डेटा भएको डाक्टरहरूका सर्टिफिकेटहरू र १२३ एमबी डेटाको सम्पर्क कागजातहरू थिए। यसका अलावा १५ एमबीको मार्कसिटहरू पनि चोरी भएको साइबर ब्यूरोले अनुसन्धानको क्रममा फेला पारेको छ।

ती विवरणहरू ह्याकरले आफ्नो टेलिग्राम च्यानलमा सार्वजनिक समेत गरेका थिए। यद्यपि, पछि उनले ‘हाम्रो उद्देश्य डाटा लिक गर्ने होइन’ भन्दै माफी मागेर केही पोस्टहरू हटाएको अनुसन्धानमा खुलेको छ।

प्रहरीले ह्याकरले प्रयोग गरेको ‘टेलिग्राम’ आइडी र त्यसमा प्रयोग भएको मोबाइल नम्बरलाई ट्र्याक गरेको थियो। अनुसन्धान गर्दै जाँदा उक्त नम्बर झापाका सरोज पौडेलको छोरा बिकास पौडेलले प्रयोग गरिरहेको खुल्यो।

प्रहरी टोलीले उनलाई खोज्दै जाँदा गत पुस १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित ‘सुकुटे भ्याली रिसोर्ट’ को कोठा नम्बर ४ बाट पक्राउ गरेको हो। उनको साथबाट ह्याकिङमा प्रयोग भएको खैरो रङको आइफोन र पोको कम्पनीको मोबाइल बरामद भएको छ।

बयानमा के भने?
अदालतमा पेश गरिएको बयानमा बिकासले आफ्नो अपराध स्वीकार गरेका छन्। उनले आफू सामाजिक सञ्जालमा ‘हेपिएका मानिसहरूलाई सपोर्ट गर्ने’ मनसायले ह्याकिङमा लागेको बताएका छन्।

उनले बयानमा भनेका छन्, ‘मैले ९/१० महिना अगाडि सीएमडीनेपाल नामको टेलिग्राम ग्रुप बनाएको थिएँ। अनलाइनबाट समाजमा डोमिनेट भएका मानिसहरूलाई सहयोग गर्ने हाम्रो उद्देश्य थियो। मैले युबिक नामबाट ह्याकिङ गर्ने गरेको थिएँ।’

बिकासले यसअघि पनि विनायक शान्ति निकेतन स्कुल, पशुपति मा.वि. मुसिकोट र केही भारतीय वेबसाइट ह्याक गरेको स्वीकार गरेका छन्। उनले डाटा चोरी गरे पनि बिक्री गरेर पैसा कमाउने उद्देश्य भने नराखेको दाबी गरेका छन्।

पुष २४, २०८२ बिहीबार १२:४७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।