विज्ञप्तिमा ‘अमेरिका’ शब्द नै उल्लेख नगरी अमेरिका-भेनेजुएला तनावबारे बोल्यो नेपाल
काठमाडौं : नेपाल सरकारले अमेरिका र भेनेजुएलाबीचको बढ्दो तनावबारे चासो व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै तनावलाई थप चर्काउने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो।
हालै अमेरिकी सेनाले भेनेजुएलाको राजधानी कराकस लगायतका प्रमुख शहरहरूमा कारबाही गर्दै त्यहाँका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिकाको न्यूयोर्कस्थित हिरासतमा राखेपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको छ।
यो घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा हलचल मच्चाएको छ र विश्वका विभिन्न मुलुकहरूले यसमा गम्भीर चासो र चिन्ता व्यक्त गरिरहेका छन्।
यही सन्दर्भमा नेपालले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। तर, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य पक्ष मानिएको अमेरिकाको नाम भने कतै उल्लेख गरिएको छैन।
विज्ञप्तिमा ‘हालैका घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ भनिए पनि कुन देशको कारबाही वा हस्तक्षेप भन्नेबारे नेपाल मौन देखिएको छ।
विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रलाई स्मरण गराउँदै राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान हुनुपर्नेमा विशेष जोड दिएको छ।
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘विवादहरू संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्नेमा नेपाल जोड दिन्छ।’

पुष २४, २०८२ बिहीबार १२:१२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।