शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, २८ जना घाइते

शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, २८ जना घाइते

काठमाडौं : काठमाडौंको शङ्खरापुर नगरपालिका-३, साँखु जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

बुधबार घटनास्थलमै र उपचारका क्रममा चार जनाको मृत्यु भएकोमा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ।

मृतकहरूको विवरण:
१. कामना शर्मा (४९ वर्ष) - कोहलपुर-५, नेपालगञ्ज (हालः बूढानीलकण्ठ)
२. इन्दिरा लिम्बू (५१ वर्ष) - पाथीभरा-५, ताप्लेजुङ (हालः बूढानीलकण्ठ-७)
३. शान्ति गुप्ता (५५ वर्ष) - सिराह (हालः पेप्सीकोला)
४. देवेन्द्र लिम्बू (६५ वर्ष, अन्दाजी) - पाँचथर (हालः गोठाटार)
५. अर्जुन लामिछाने (६० वर्ष) - जोरपाटी, काठमाडौं

प्रहरीका अनुसार, नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज (पिकनिक) मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवा सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा २८ जना घाइते भएका थिए। घाइतेमध्ये २३ जनाको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका ५ जना उपचारपछि घर फर्किएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

रासस

पुष २४, २०८२ बिहीबार १०:३३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।