बंगलादेशका खेलकुद मन्त्रीले दोहोर्‍याए, ‘हामीले टी-२० विश्वकप श्रीलंकामा खेल्न पाउनुपर्छ’

बंगलादेशका खेलकुद मन्त्रीले दोहोर्‍याए, ‘हामीले टी-२० विश्वकप श्रीलंकामा खेल्न पाउनुपर्छ’

एजेन्सी : बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले सुरक्षा चुनौती र राष्ट्रिय स्वाभिमानको कारण देखाउँदै टी-२० विश्वकपका खेलहरू भारतबाट श्रीलंकामा सार्नुपर्ने बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को मागलाई पुनः दोहोर्याएका छन्।

उनले खेलाडीहरूको सुरक्षा र बंगलादेशको इज्जतसँग जोडिएको यो गम्भीर विषयलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुझ्नुपर्ने बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग बोल्दै नजरुलले भने, ‘आईसीसीको पत्र पढ्दा लाग्छ, उनीहरूले भारतमा रहेका बंगलादेशी क्रिकेटरहरूको सुरक्षा चुनौतीको गहिराइलाई पूर्ण रूपमा बुझेका छैनन्। यो केवल सुरक्षाको मात्र होइन, राष्ट्रिय अपमानको पनि विषय हो।’

उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाउन दिएको निर्देशनलाई संकेत गर्दै भने, ‘बीसीसीआई आफैँले केकेआरलाई यो खेलाडीलाई सुरक्षा दिन सकिँदैन, टिमबाट हटाउ भन्नु नै भारतमा खेल्न सुरक्षित छैन भन्ने कुराको मौन स्वीकारोक्ति हो।’

दुई देशबीचको बिग्रँदो सम्बन्धका बीच बीसीसीआईले कुनै कारण नखुलाई मुस्ताफिजुरलाई हटाउन निर्देशन दिएपछि विवाद चर्किएको हो। यसको प्रतिक्रिया स्वरूप बंगलादेश सरकारले देशमा आईपीएल प्रसारणमा रोक लगाएको छ भने बीसीबीले आफ्ना विश्वकपका खेलहरू भारतमा खेल्न अस्वीकार गर्दै आईसीसीलाई पत्र पठाएको छ।

बंगलादेशको तालिका अनुसार समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुने तय भएको छ। तर, बीसीबी र सरकारले यी खेलहरू अर्को आयोजक राष्ट्र श्रीलंकामा सार्नुपर्ने माग राखेका छन्।

नजरुलले थपे, ‘हामी भारतको ठूलो राजनीतिक वा साम्प्रदायिक अवस्थाबारे केही भन्न चाहँदैनौं। तर जब हाम्रा क्रिकेटरहरूको सुरक्षा, बंगलादेशको सुरक्षा र बंगलादेशको स्वाभिमानको कुरा आउँछ, हामी कुनै सम्झौता गर्ने छैनौं। हामी क्रिकेट खेल्न चाहन्छौं, विश्वकप खेल्न चाहन्छौं- तर हामी श्रीलंकामा खेल्न चाहन्छौं।’

बीसीबीका अध्यक्ष अमिनुल इस्लामले पनि सुरक्षाको चिन्ता टोलीमा मात्र सीमित नभई समर्थक र पत्रकारहरूमा पनि रहेको बताए।

उनले भने, ‘क्रिकेट बोर्डले विश्वकपमा जाने हरेक बंगलादेशीको सुरक्षा माग्न सम्भव छैन। त्यसैले हामी सरकारी निर्देशन पालना गरिरहेका छौं। विगतमा सुरक्षाकै कारण हाइब्रिड मोडलमा प्रतियोगिताहरू भएका छन्। च्याम्पियन्स ट्रफीमा भारत पाकिस्तान गएन, पाकिस्तान पनि भारत आएन। त्यसैले हामीले पनि आईसीसीबाट सकारात्मक नतिजाको अपेक्षा गरेका छौं।’

यदि आईसीसीले खेलहरू सार्न अस्वीकार गरेमा र बंगलादेशले भारत जान नमानेमा बंगलादेश प्रतियोगिताबाटै बाहिरिने जोखिम बढेको छ। हाल बीसीबीले आईसीसीसँग समस्याको समाधानका लागि रचनात्मक वार्ता जारी राख्ने बताएको छ।

पुष २४, २०८२ बिहीबार १०:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।