एशेजको उपाधि ४-१ ले अष्ट्रेलियाको पोल्टामा, अन्तिम टेस्टमा ५ विकेटले विजयी
सिड्नी : घरेलु टोली अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम एशेज टेस्ट ५ विकेटले जितेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा सम्पन्न खेलको चौथो दिन नै अष्ट्रेलियाले १६० रनको विजय लक्ष्य ५ विकेट गुमाएर पूरा गर्यो।
योसँगै अष्ट्रेलियाले पाँच खेलको टेस्ट सिरिज ४-१ ले आफ्नो पक्षमा पारेको छ।
जितका लागि १६० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको दोस्रो इनिङ्समा मार्नस लाबुसजेनले सर्वाधिक ३७ रन बनाए भने जेक वेदरल्डले ३४ रनको योगदान दिए।
ट्राभिस हेडले २९ र क्यामरुन ग्रीनले अविजित २२ रन बनाए। बलिङतर्फ इंग्ल्याण्डका जोस टंगले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले आफ्नो पहिलो इनिङ्समा ३८४ रन बनाएको थियो।
इंग्ल्याण्डका लागि जो रुटले १६० रनको शानदार शतकीय पारी खेलेका थिए भने ह्यारी ब्रुकले ८४ रन बनाएका थिए। अष्ट्रेलियाका माइकल नेसरले ४ विकेट लिएका थिए।
जवाफमा अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा विशाल ५६७ रन बनाउँदै १८३ रनको महत्वपूर्ण अग्रता लियो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले १६३ रन र स्टिभन स्मिथले १३८ रनको शतकीय पारी खेले। ब्यु वेबस्टरले अविजित ७१ रन बनाए।
१८३ रनले पछि परेको अवस्थामा दोस्रो इनिङ्स सुरु गरेको इंग्ल्याण्डले ३४२ रन बनायो।
इंग्ल्याण्डका युवा ब्याटर ज्याकब बेथेलले १५४ रनको उत्कृष्ट पारी खेले पनि अन्य ब्याटरले ठूलो योगदान दिन नसक्दा अष्ट्रेलियाले १६० रनको सहज लक्ष्य पाएको थियो। दोस्रो इनिङ्समा अष्ट्रेलियाका मिचेल स्टार्क र ब्यु वेबस्टरले समान ३-३ विकेट लिए।
खेलमा १६३ र २९ रनको योगदान दिएका अष्ट्रेलियाका ट्राभिस हेड ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस्तै, सिरिजभर २०२ रन बनाउनुका साथै ४६ विकेट लिएका अष्ट्रेलियाकै तीब्र गतिका बलर मिचेल स्टार्क ‘प्लेयर अफ द सिरिज’ चुनिए।
यो जितसँगै अष्ट्रेलियाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा १२ अंक प्राप्त गरेको छ।
पुष २४, २०८२ बिहीबार ०९:४४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।