राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा एमाले-कांग्रेस गठबन्धनको स्पष्ट बहुमत

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा एमाले-कांग्रेस गठबन्धनको स्पष्ट बहुमत

बुटवल : आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि देशका अन्य प्रदेशहरूमा जस्तै लुम्बिनी प्रदेशमा पनि चुनावी सरगर्मी बढेको छ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता राजनीतिका दुई ठूला प्रतिस्पर्धी दलहरू नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएका छन्।

यो गठबन्धनसँगै लुम्बिनीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन जना सदस्यको चयन लगभग सुनिश्चित जस्तै देखिएको छ। निर्वाचनका लागि बुधबार मनोनयन दर्ता सम्पन्न भएको छ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदहरूको पदावधि आगामी फागुन २० गते सकिँदैछ। एमालेका तर्फबाट निर्वाचित गोपाल भट्टराई र विमला घिमिरे तथा माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल सकिन लागेको हो।

भट्टराई खुला क्लस्टरबाट, घिमिरे महिला क्लस्टरबाट र शर्मा अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट निर्वाचित भएका थिए।

संवैधानिक व्यवस्था अनुसार पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने प्रावधान अनुरुप निर्वाचन आयोगले माघ ११ गतेका लागि निर्वाचन कार्यतालिका तोकेको छ। अहिले रिक्त हुन लागेका सोही क्लस्टर (महिला, अपाङ्गता र खुला) मा नै पदपूर्ति गर्न निर्वाचन हुन लागेको हो।

रोचक गठबन्धन र उम्मेदवारको नालीबेली
दाङको घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमाले र कांग्रेसले चुनावी तालमेल गरेका छन्। यो तालमेल अनुसार एमालेले एक र कांग्रेसले दुई सिट लिने सहमति भएको छ।

सहमति अनुसार एमालेको तर्फबाट महिला क्लस्टरमा नेतृ रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छिन्। विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्रीको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण छ। २०३५ साल जेठ १० गते गुल्मीको साविक म्यालपोखरी-१ मा जन्मिएकी झाँक्री सधैँ आन्दोलनको अग्रमोर्चामा देखिने अनुहार हुन्।

२०६५ सालमा अनेरास्ववियुको १९औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष बनेर उनले आफ्नो नेतृत्व क्षमता सिद्ध गरिसकेकी थिइन्। एमाले विभाजनका बेला एकीकृत समाजवादीतर्फ लागेकी उनी पछि पुनः एमालेमै फर्किएकी हुन्।

हालै सम्पन्न एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित झाँक्री अब राष्ट्रिय सभा मार्फत संसदीय राजनीतिमा सक्रिय हुने तरखरमा छिन्।

यस्तै, गठबन्धनको अर्को घटक नेपाली कांग्रेसले दुई जना पुराना र त्यागी नेतालाई अघि सारेको छ। अपाङ्गता क्लस्टरमा कांग्रेसले दाङ लमही नगरपालिका-१ निवासी बासुदेव घिमिरे ‘जंगली’ लाई उम्मेदवार बनाएको छ।

घिमिरे कांग्रेस वृत्तमा संघर्षशील नेताका रूपमा परिचित छन्। २०२९ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका घिमिरेले २०४० सालमा पार्टीको जिल्ला सदस्य हुँदै तरुण दलको केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। उनी कांग्रेसको क्षेत्रीय सभापति समेत भइसकेका अनुभवी नेता हुन्।

त्यसैगरी, अन्य (खुला) क्लस्टरमा कांग्रेसले गुल्मी रेसुङ्गा नगरपालिका निवासी चन्द्र केसीलाई उम्मेदवार बनाएको छ।

केसी पनि कांग्रेसका पाका नेता हुन्। यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका केसी एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएका थिए।

गुल्मीको पूर्व जिविस सभापति समेत भएर विकास निर्माणमा काम गरिसकेका केसीलाई यसपटक राष्ट्रिय सभामा पठाएर न्याय गर्न खोजिएको कांग्रेस वृतमा चर्चा छ।

विपक्षीको उम्मेदवारी
कांग्रेस-एमाले गठबन्धनको स्पष्ट बहुमत देखिए पनि निर्वाचनमा अन्य दलहरूले पनि उम्मेदवारी दिएका छन्। विप्लव नेतृत्वको नेकपाको तर्फबाट महिलामा दुर्गा भण्डारी (पाल्पा), अपाङ्गतामा सर्जन वि.क. (बाँके) र अन्यमा वृहस्पति अधिकारी (रुपन्देही) ले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै, राष्ट्रिय जनमोर्चाले पनि आफ्नो उपस्थिति देखाउन अन्य क्लस्टरमा बोमबहादुर खत्री र महिला क्लस्टरमा पद्मा पण्डितलाई चुनावी मैदानमा उतारेको छ। कुल ३ पदका लागि ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय दाङ घोराहीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन्।

जित निश्चित गराउने अंकगणित
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनको अंकगणित हेर्दा एमाले र कांग्रेसको गठबन्धन निकै बलियो देखिन्छ। निर्वाचन मण्डलमा प्रदेश सभाका ८७ सदस्य र स्थानीय तहका १०९ पालिकाका प्रमुख तथा उपप्रमुख गरी २१७ (कुल ३०४) मतदाता रहेका छन्।

यसपटक निर्वाचन आयोगले मतभारमा पनि परिमार्जन गरेको छ। विगतमा प्रदेश सभा सदस्यको मतभार ४८ रहेकोमा अहिले जनगणनाको आधारमा वृद्धि गरेर ५३ पुर्याइएको छ। त्यस्तै, स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ बाट बढाएर १९ कायम गरिएको छ।

यस नयाँ मतभार अनुसार हिसाब गर्दा लुम्बिनी प्रदेशमा कुल ८ हजार ७५३ मतभार रहेको छ। जसमा प्रदेश सांसदहरूको कुल मतभार ४,६११ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार ४,१४२ हुन आउँछ।

दलगत स्थितिलाई विश्लेषण गर्दा एमाले र कांग्रेसको मत जोड्दा गठबन्धनको पक्षमा ५,९८९ मतभार देखिन्छ। यो संख्या जितका लागि चाहिने आवश्यक मतभन्दा निकै माथि हो। अर्कोतर्फ, माओवादी केन्द्र र एकीकृत समाजवादी (नेपाली कम्युनिस्ट पार्टी) को संयुक्त मतभार जम्मा १,३९६ मात्र रहेको छ।

यसबाहेक साना दलहरूको अवस्था हेर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २६९, जनता समाजवादी पार्टी (जसपा) को २७३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को २३५, नागरिक उन्मुक्ति पार्टीको २१२, जनमत पार्टीको १५९, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रहरूको ५३ मतभार रहेको छ।

यो अंकगणितले स्पष्ट संकेत गर्छ कि विपक्षी दलहरू वा साना दलहरू सबै एक ठाउँमा उभिए पनि एमाले-कांग्रेस गठबन्धनलाई हराउन असम्भव प्रायः छ। विपक्षीको मतभार र सत्ता गठबन्धनको मतभार बिचको खाडल ४ हजार भन्दा बढी छ।

पुष २४, २०८२ बिहीबार ०८:२२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।