१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४० दिनको सेवा सुविधा के-के?

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४० दिनको सेवा सुविधा के-के?

काठमाडौं : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले ठूलो संख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) भर्ना खुला गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (भर्ना छनौट शाखा) ले एक सूचना जारी गर्दै देशभरबाट १ लाख १५ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २५ गतेदेखि माघ १ गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त फाराम बुझाउन सक्नेछन्।

दरखास्त फाराम काठमाडौं उपत्यकाका हकमा जिल्ला प्रहरी परिसरहरू (काठमाडौं, ललितपुर र भक्तपुर) तथा अन्य जिल्लाको हकमा सम्बन्धित सबै जिल्ला प्रहरी कार्यालयहरूबाट पाइने र बुझाउन सकिनेछ।

यसका लागि दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ भने शैक्षिक रुपमा साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपले स्वस्थ र नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको हुनुपर्नेछ।

यसका अलावा पुरुषको हकमा उचाई घटीमा ५ फिट २ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा उचाई ५ फिट र तौल ४२ केजी हुनुपर्नेछ साथै कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मीहरू, पूर्व वन रक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका व्यक्तिहरू तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएकाहरूलाई छनौटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

आवेदन दिएकाहरूले माघ १० गते सम्पर्क गर्नुपर्नेछ भने छनोट माघको ५ गतेदेखि ९ गतेसम्म हुनेछ। यसको अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुनेछ। म्यादी प्रहरीका लागि तालिम १५ गतेदेखि २४ गतेसम्म १० दिन दिइनेछ।

सेवा सुविधा र तलब:
छनौट भएका निर्वाचन प्रहरीको कार्य अवधि जम्मा ४० दिन को हुनेछ। उनीहरूले निम्न बमोजिमको सेवा सुविधा पाउनेछन्:
१. तलब: नेपाल प्रहरीका जवान सरहको सुरु तलब स्केल (प्रतिदिन रु. ८६९.४०) का दरले ४० दिनको रु. ३४,७७६।– (चौतीस हजार सात सय छयाहत्तर)।
२. रासन: ४० दिनको लागि एकमुष्ठ रु. ७,२००।–।
३. पोशाक: तोकिए बमोजिमको रकम (बैंक खातामा जम्मा गरिने)।
४. तयारी खर्च: आउने जाने तयारी स्वरूप एक पटकका लागि रु. १,०००।–।
५. खाजा खर्च: निर्वाचनको दिन खटिने ठाउँमा ४ दिनका लागि प्रतिदिन रु ३०० का दरले रु. १,२००।–।

कुल मिलाएर एक जना म्यादी प्रहरीले ४० दिनको अवधिमा करिब ४४ हजार रुपैयाँ भन्दा बढी नगद प्राप्त गर्नेछन्। साथै, ड्युटीको क्रममा घाइते वा मृत्यु भएमा सरकारको नियम अनुसार क्षतिपूर्तिको व्यवस्था समेत गरिएको छ।

पुष २४, २०८२ बिहीबार ०७:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।