राजीनामा दिँदै कुलमानले भने “अब मेरो बाटो राजनीतिक हुनेछ”
काठमाडौं : नागरिक सरकारमा बसेर दलमा आबद्ध भएपछि प्रधानमन्त्रीले राजीनामा दिन दबाब दिएपछि कुलमान घिसिङले बुधवार बेलुका राजीनामा दिए। उनले राजीनामापछि पत्रकार सम्मेलन गर्दै अब आफ्नो यात्रा राजनीतिक हुने बताए।
उनले पत्रकार सम्मेलनमा उज्यालो नेपाल अभियान लिएर राजनीतिमा सक्रिय हुने बताए तर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम लिएनन्। उनले राजीनामाको निर्णय भाग्ने निर्णय नभएको र जिम्मेवारीबाट विमुख हुने प्रयास नभएको बताए।
भारतको एक कम्पनीसँग विद्युत् खरिदका लागि भएको सम्झौतामा ४३ करोड भ्रष्टाचार भएको आरोप लागेको भन्दै उनले त्यसमा कुनै सत्यता नभएको दाबी गरे। उनले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरु इनर्जी ट्रेड नबुझ्नेहरु भएको आरोप समेत लगाए।
समय घर्काएर सस्तोमा भएको सहमतीको आधारमा आफूमाथि भ्रष्टाचार गरेको आरोप लगाउनु गलत भएको दाबी गरे। तर आफ्नोबारे लागेको गम्भिर आरोपबारे बोल्दा उनी अड्कीअड्की बोलिरहेका थिए।
“अब भोलीदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ। देशभित्रको समसामयिक विषय लिएर र देशको अहिलेको अवस्था बदल्न राजनीतिक नेतृत्वमा जान मन्त्रीपरिषद्बाट राजीनामा दिएको हुँ” उनले भने।
राजनीतिक कार्यक्रम र विषयमा भन्दा पनि २४ सै घण्टा तीन वटा मन्त्रालयको काममा व्यस्त हुने गरेको र राजनीतिक रूपमा अगाडि बढ्न यसले केही ब्रेक लगाएको अनुभव भएको दाबी गरे।
उनले प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूले सघाउन आग्रह गरेकाले चुनौती स्वीकार गरेर सरकारमा सहभागी भएको उनले दाबी गरे।
देशलाई खरानीबाट टकटक्याएर अहिलेको अवस्थामा ल्याइपुर्याएको भन्दै उनले देशले स्थायित्व लिने र चुनाव हुनेतिर अगाडि बढेको भन्दै यो अवस्था आफ्नो लागि एक प्रतिफल भएको बताए। उनले आगामी दिनमा नेपाल भित्र रहेको बेथिति र सुशासनको क्षेत्रमा गर्नुपर्ने काम गर्ने बताए।
यसका लागि अब आफू राजनीतिक क्षेत्रबाट अगाडि बढ्ने तयारी गरेको उनले बताए। उनले आफ्नो राजनीतिक यात्रामा सहयोग माग्दै आत्मसम्मान र स्वाभिमानलाई तल नपारी काम गर्ने बताए।
पुष २३, २०८२ बुधबार २२:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।