नौ जनाको नाममा छलफल गर्न आएको, उम्मेदवारहरू मनोनयपत्र बोकेर जिल्ला गइसकेछन् : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पार्टीले गरेको उम्मेदवार चयन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टीको संस्थागत प्रक्रिया मिचेर व्यक्तिको खल्तीबाट उम्मेदवार चयन गरिएको भन्दै लिखित फरक मत दर्ज गरेका छन्।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गर्दा पार्टीको संसदीय बोर्ड र केन्द्रीय समितिको मानमर्दन भएको बताए।
महामन्त्री थापाले भने, ‘आज प्रस्ताव भएका ९ जनाको नाममा छलफल गर्नका लागि यहाँ आएको थिएँ। तर यहाँ नाम प्रस्ताव गर्न बाँकी नै छैन, पारित गर्न बाँकी नै छैन। उम्मेदवारहरू मनोनयन पत्र बोकेर जिल्ला गइसकेका छन्। यो हदसम्मको संसदीय बोर्ड र केन्द्रीय समितिको मानमर्दन स्वीकार्य छैन।’
उनले उम्मेदवार चयन गर्दा तल्लो तहका कमिटीहरूबाट सिफारिस भएर आउनुपर्ने विधि मिचिएको बताए।
‘९ जनामध्ये ३ जनाको नाम तल्लो कुनै पनि कमिटीबाट सिफारिस भएर आएको छैन। सिधै यहाँबाट पारित गरिएको छ,’ थापाले भने, ‘यसले तल्लो तहको सिफारिसको कुनै अर्थ रहेन भन्ने सन्देश दिएको छ।’
थापाले उम्मेदवार चयनमा समावेशीताको पक्षलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाए।
उनले भने, ‘९ जनाको नाम सिफारिस हुँदा एकजना पनि जनजाति परेनन्। अघिल्लो पटक मधेशी समुदाय नपर्दा हामीले लडेर सच्याएका थियौं। यसपटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जानाजानी छुटाइयो।’
उनले नेताहरूले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा र आ-आफ्नो गुटका मान्छे व्यवस्थापन गर्न क्लस्टरको दुरुपयोग गरेको आरोप लगाए।
तालमेलको औचित्यमाथि प्रश्न
एमालेसँगको तालमेलप्रति पनि थापाले असहमति जनाएका छन्।
उनले भने, ‘हिजोसम्म हामीले सिट ठूलो कुरा होइन, संविधान र व्यवस्था ठूलो हो भन्दै आएका थियौं। आज एक सिटमा कुरा नमिलेपछि फेरि सिट ठूलो भयो? यति छिटो कुरा कसरी फेरियो?’
उनले एमालेसँगको तालमेलको सैद्धान्तिक आधार स्पष्ट नभएको र यो निर्णय पार्टीको आधिकारिक बैठकमा छलफल नै नगरी गरिएको बताए।
‘सभापतिजी बैठकमा नआउने तर कोठामा बसेर दुई-चार जना नेताले निर्णय गर्ने परिपाटी गलत छ’, उनले भने।
महामन्त्री थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टीभित्र घेराबन्दी गर्न खोजिएको भए पनि त्यसलाई तोडेर अघि बढ्ने बताए।
‘तपाईंहरूले जति घेराबन्दी गरे पनि हाम्रो घेरा सानो छैन। पार्टीका साथीहरू, शुभेच्छुक र आम नागरिकको घेरा ठूलो छ’, उनले नेतृत्वलाई चेतावनी दिँदै भने।
उनले आजको निर्णयमा आफ्नो र अनुपस्थित रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि असहमति रहेको स्पष्ट पारे।
‘यो निर्णयको स्वामित्व हामी लिँदैनौं। मैले आफ्नो फरक मत लिखित रूपमै दर्ज गरेको छु’, थापाले भने।
पुष २३, २०८२ बुधबार १२:३४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।