वीरगञ्जमा आगो तापिरहेका दुई युवामाथि धारिलो हतियार प्रहार, अवस्था खतरामुक्त

वीरगञ्जमा आगो तापिरहेका दुई युवामाथि धारिलो हतियार प्रहार, अवस्था खतरामुक्त

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका-१६ घुसुकपुरमा पुरानो रिसिबीका कारण दुई युवामाथि धारिलो हतियार प्रहार भएको छ।

मंगलबार साँझ घर अगाडि आगो तापिरहेका बेला स्थानीय विकास महतो र सुरज महतोमाथि छिमेकीले नै आक्रमण गरेका हुन्। आक्रमणबाट घाइते दुवैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६:४५ बजेतिर उक्त घटना भएको हो। आक्रमणबाट विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको छ।

प्रारम्भिक प्रहरी अनुसन्धानबाट घाइते र आक्रमणकर्ताबीच पहिलेदेखि नै विवाद र रिसिबी रहेको खुलेको छ। सोही रिसिबी साँधेर आगो ताप्दै गरेको अवस्थामा एक्कासी आक्रमण भएको एसपी पाठकले जानकारी दिए।

घटनामा संलग्न आरोपीहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। यता उपचारमा संलग्न चिकित्सकहरूले घाइते दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएका छन्।

पुष २३, २०८२ बुधबार १२:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।