गौतमबुद्ध सामुदायिक मुटु अस्पताल : १३ वर्षदेखि सरकारी शुल्कमै उपचार, तर छैन आफ्नै छानो

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल : १३ वर्षदेखि सरकारी शुल्कमै उपचार, तर छैन आफ्नै छानो

बुटवल : सामान्य मानिसको बुझाइमा मुटु रोग भनेको केवल हृदयघात वा ‘हर्टफेल’ मात्र थियो। छाती दुख्नेबित्तिकै वा मुटुको चालमा गडबडी हुनेबित्तिकै उपचारका लागि लाखौँ रुपैयाँ जोहो गरेर, महिनौँ दिनको समय छुट्याएर काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता लुम्बिनी क्षेत्रका नागरिकको नियति नै थियो।

तर, आज त्यो बाध्यताको कथा बदलिएको छ। बुटवलका उद्योगी, व्यवसायी, समाजसेवी र रोटरी क्लबमा आबद्ध अभियन्ताहरूको सामूहिक संकल्प र अनवरत प्रयासबाट स्थापित ‘गौतमबुद्ध सामुदायिक मुटु अस्पताल’ आज हजारौं बिरामीहरूका लागि साच्चिकै बरदान सावित भएको छ।

‘स्वस्थ मुटु हाम्रो अभियान’ भन्ने मूल नाराका साथ २०७० सालमा विधिवत् रूपमा सञ्चालनमा आएको यो अस्पतालले आफ्नो स्थापनाको १३ वर्ष पूरा गरिरहँदा यसले केवल उपचार सेवा मात्र दिएको छैन, समुदायले चाहेमा स्वास्थ्य क्षेत्रमा कस्तो कायापलट गर्न सक्छ भन्ने एउटा जीवित उदाहरण पनि प्रस्तुत गरेको छ।

सपनाको बिजारोपण र सुरुवाती संघर्ष
अहिले सुविधासम्पन्न अस्पताल देखिरहँदा यसको पछाडिको संघर्षको कथा निकै रोचक र प्रेरणादायी छ। मुटु अस्पताल सञ्चालन गर्ने आँट गर्नु चानचुने कुरा थिएन। यसको परिकल्पनाको बीजारोपण २०६२ सालमा भएको थियो। तत्कालीन समयमा रुपन्देही उद्योग संघले बुटवलमा एउटा विशिष्टीकृत मुटु अस्पतालको टड्कारो आवश्यकता महसुस गर्यो।

योजना बन्यो, तर मुख्य चुनौती थियो- आर्थिक स्रोत। संघले अस्पताल स्थापनाका लागि आयोजना गर्ने औद्योगिक प्रदर्शनीको प्रत्येक टिकटबाट ३ रुपैयाँ छुट्ट्याउने निर्णय गर्यो। त्यो समयमा धेरैले यो निर्णयलाई अव्यावहारिक भन्दै आलोचना पनि गरे। ‘४ लाख रुपैयाँ जम्मा गरेर पनि कहीँ करोडौँको अस्पताल बन्छ?’ भन्ने प्रश्न र व्यङ्ग्यहरू बारम्बार तेर्सिए। तर, अभियन्ताहरू डगमगाएनन्।

अस्पताल स्थापनाको नेतृत्व गरिरहेका एजाज आलम त्यो कठिन समय सम्झदै भन्छन्, ‘आम नागरिकलाई राज्यले स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा समुदायबाट गरिएको प्रयासलाई सहयोग र स्वागत गर्नु त परको कुरा हो, कताकता योजनालाई नै असफल बनाउने खेल चल्यो। तर, हामी रत्तिभर पनि आत्तिएनौँ।’

स्रोत जुटाउने क्रममा २०६७ सालमा एउटा ऐतिहासिक प्रयोग गरियो। अस्पताल निर्माणार्थ बुटवलमा ‘बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना गरियो। उक्त कार्यक्रमको टिकट दर तोकिएको थियो- २५ हजार रुपैयाँ। फेरि पनि आलोचना भयो, ‘२५ हजारको टिकट काटेर कसले सांस्कृतिक कार्यक्रम हेर्छ?’ तर, बुटवलवासीले आलोचकहरूलाई जवाफ दिए।

यो सांस्कृतिक कार्यक्रम केवल मनोरञ्जनका लागि थिएन, यो त एउटा पवित्र मानवीय कार्यका लागि थियो। बुटवलका सचेत नागरिक र उद्योगी व्यवसायीले यसमा खुलेर साथ दिए । १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको सो कार्यक्रमबाट लक्ष्यभन्दा बढी अर्थात् १ करोड १० लाख रुपैयाँ संकलन भयो। यो सफलता नै अस्पताल स्थापनाको कोसेढुङ्गा साबित भयो।

अध्यक्ष आलम भन्छन्, ‘यो रकम संकलन भएपछि हामीलाई थप हौसला प्रदान भयो। त्यसपछि उद्योग संघको संरक्षकत्वमा यस क्षेत्रका उद्योगी व्यवसायीलाई समावेश गरी गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको स्थापना गरेर अस्पताल सञ्चालन गर्यौँ।’

सदस्यता विस्तार र सञ्चालनको तयारी
पैसा त उठ्यो, तर अस्पताल सञ्चालनका लागि अनुमानित लागत थियो- ५ करोड रुपैयाँ। सांस्कृतिक कार्यक्रमको १ करोड १० लाख बाहेक अरू पैसा थिएन। तब संस्थाले सदस्यता विस्तारको अभियान चलायो।

अध्यक्ष आलमका अनुसार त्यो समयमा सदस्य बनाउन रसिद काट्दै हिँड्दा कतिपय साथीहरूले रसिद नै ‘क्यान्सिल’ गराएर हिँडेका तीता अनुभवहरू पनि छन्। तर, हार नमानी गरिएको प्रयासले २५० जना संस्थापक सदस्य बनाउन सफलता मिल्यो र अस्पताल सञ्चालनको बाटो खुल्यो।

अन्ततः २०७० पुस १० गते अस्पताल औपचारिक रूपमा सञ्चालनमा आयो। सुरुवाती दिनमा १ जना मुटु रोग विशेषज्ञ, ४ जना मेडिकल अफिसर सहित ४५ जना कर्मचारीबाट ९ बेडको सीसीयूसहित २४ बेडको अस्पताल सुरु भएको थियो ।

२०७० सालमा मुटु रोगको उपचारबाट सुरु भएको यो यात्रा २०७२ सालमा पुग्दा मिर्गौला रोगको उपचारसम्म फैलियो। अस्पतालले डायलाइसिस सेवा सुरू गरेपछि पश्चिम नेपालका मिर्गौला पीडितहरूका लागि यो ठूलो राहत बन्यो।

सबैभन्दा महत्त्वपूर्ण पक्ष त अस्पतालले अपनाएको ‘सेवा विकेन्द्रीकरण’ को नीति हो। बुटवलमा मात्रै बिरामीको चाप थामिनसक्नु भएपछि र टाढाका बिरामीलाई आउजाउ गर्न गाह्रो भएपछि अस्पतालले विभिन्न जिल्लामा ‘स्याटेलाइट सेन्टर’ का रूपमा डायलाइसिस सेवा विस्तार गर्यो।

हाल दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेन्टर स्थापना भई सेवा प्रवाह भइरहेको छ। नवलपरासीको सुनवलमा पनि डायलाइसिस सेन्टर सञ्चालनको अन्तिम तयारीमा छ। एउटा सामुदायिक अस्पतालले यसरी अन्तर-जिल्ला सेवा विस्तार गर्नु नेपालकै स्वास्थ्य क्षेत्रमा विरलै पाइने उदाहरण हो।

अस्पतालले २०७३ सालमा लुम्बिनी प्रदेशमै पहिलोपटक ‘क्याथ ल्याब’ स्थापना गर्यो। अध्यक्ष आलम भन्छन्, ‘यहाँका उद्योगी, व्यवसायी साथीहरू, रोटरीमा लागेका अभियन्ताहरूको पहलले आज मुटु अस्पताल ४२ जिल्लाका जनताहरूको उपचारको थलो बनेको छ।’

जनशक्ति र तथ्याङ्कीय सफलता
१ जना विशेषज्ञबाट सुरू भएको अस्पतालमा हाल ५ जना वरिष्ठ मुटुरोग विशेषज्ञ, १ जना मुटु रोग विशेषज्ञ, १ जना मिर्गौला रोग विशेषज्ञ, १ जना एमडी क्रिटिकल केयर र १६ जना मेडिकल अफिसर कार्यरत छन्।

बुटवल केन्द्र र बाहिरी जिल्लाका सेन्टरहरू (लमही, तानसेन, वालिङ, कपिलवस्तुमा ११/११ जना) गरी कुल ३०३ जना कर्मचारीहरूले अनवरत सेवा दिइरहेका छन्।

अस्पतालको तथ्याङ्क हेर्दा यसले पुर्याएको योगदानको आयतन प्रस्ट हुन्छ। हालसम्म ४ लाख १६ हजार ६४७ जनाले ओपीडी सेवा लिएका छन् भने ५६ हजार ७२९ जनाले इमर्जेन्सी सेवा प्राप्त गरेका छन्।

अत्याधुनिक उपचारतर्फ क्याथ ल्याबमार्फत मात्रै ६ हजार ५ सय ६४ जनाले सेवा पाएका छन्। जसमा तीन हजार आठ सय ४२ जनाको कोरोनरी एन्जियोग्राफी, एक हजार पाँच सय ४४ जनाले एन्जियोप्लास्टी, तीन सय ४८ जनाले स्थायी पेसमेकर जडान, छ सय ९३ जनाले अस्थायी पेसमेकर, एक सय ३० जनाले पेरिकार्डियोसेन्टेसिसको सेवा पाएका छन्।

अस्पतालले निःशुल्क डायलाइसिस सेवामार्फत हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन सेवा प्रदान गरिसकेको छ। यस वर्ष मात्रै ५६ हजार ४३७ सेसन डायलाइसिस गरिएको छ।

हाल ५५१ जना मिर्गौला रोगीले नियमित रूपमा निःशुल्क डायलाइसिस गराइरहेका छन्। जसमध्ये बुटवल केन्द्रमा मात्रै ३११ जनाले सेवा लिइरहेका छन्।

२० वटा मेसिनमार्फत चौबीसै घण्टा सेवा प्रवाह भइरहेको छ। सरकारले प्रति सेसन २ हजार ५ सय रुपैयाँ सोधभर्ना दिने गरेको छ, जसअनुसार यस वर्ष मात्र १३ करोड ९४ लाख ६५ हजार बराबरको सेवा अस्पतालले प्रदान गरेको छ।

रोटरी र समुदायको अतुलनीय योगदान
यो अस्पतालको सफलताको पछाडि ‘रोटरी’ को भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। समाजमा एउटा भाष्य निर्माण गरिएको छ कि ‘रोटरी जस्ता संस्थाले देशको पैसा विदेश लैजान्छन्।’ तर, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले यो भाष्यलाई गलत सावित गरिदियो।

अध्यक्ष आलमका अनुसार अस्पतालको स्थापनाकालदेखि नै विभिन्न रोटरी क्लब, रोटरी डिस्ट्रिक्ट ३२९२ र रोटरी फाउन्डेसनको सहयोग महत्त्वपूर्ण रहेको छ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनले आईसीयू र सीसीयूमा, रोटरी क्लब अफ बुटवल साउथले डायलाइसिस युनिटमा, रोटरी क्लब अफ बुटवलले क्याथ ल्याबमा, तथा रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले १२८ स्लाइसको सीटी स्क्यान मेसिन खरिदमा ठूलो सहयोग गरेका छन्।

त्यस्तै, इको भ्यानमा रोटरी क्लब अफ भैरहवा र एसी बसमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुटवलले सहयोग गरेका छन्।

सामुदायिक सदस्यतातर्फ पनि अस्पतालले फराकिलो दायरा बनाएको छ। हाल अस्पतालमा ७४४ जना सदस्य छन्। जसमा १० लाख सहयोग गर्ने ४७ जना ‘सम्मानित सदस्य’, ५ लाख सहयोग गर्ने ३७ जना ‘विशिष्ट सदस्य’, २ लाख सहयोग गर्ने २७ वटा संस्थागत सदस्य र १ लाख सहयोग गर्ने ६३३ जना संस्थापक सदस्य रहेका छन्।

गरिब विपन्नलाई राहत र सामाजिक उत्तरदायित्व
अस्पतालले ‘कोही पनि पैसाको अभावमा मर्नु नपरोस्’ भन्ने मान्यतालाई आत्मसाथ गरेको छ। यस वर्ष मात्र अति विपन्न र असहाय बिरामीहरूको उपचारमा अस्पतालले १ करोड ४५ लाख ७२ हजार रुपैयाँ छुट दिएको छ । गरिब तथा असहाय उपचार अक्षयकोषको स्थापना गरी यसलाई थप व्यवस्थित बनाइएको छ।

व्यक्तिगत तवरबाट पनि सहयोगको क्रम जारी छ। अस्पतालका विशिष्ट सदस्य तिलप्रसाद भट्टराईले ५ जना डायलाइसिसका बिरामीलाई ३ लाख ४१ हजार ४५९ रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराएका छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यहाँको शुल्क संरचना प्रादेशिक अस्पताल लुम्बिनी सरह नै छ। साधारण टिकटको सय रुपैयाँ तोकिएको छ भने इको, इसीजी, एक्सरे लगायतका परीक्षण शुल्क पनि सरकारी दररेटमै उपलब्ध छ।

सरकारी अस्पतालकै शुल्कमा निजी स्तरको सुविधा र विशेषज्ञ सेवा दिनु आफैँमा चुनौतीपूर्ण भए पनि अस्पतालले यसलाई निरन्तरता दिइरहेको छ।

पूर्वाधारको पीडा : आफ्नै जग्गा नहुँदाको सकस
सेवा प्रवाहमा अब्बल देखिए पनि अस्पतालको भौतिक पूर्वाधारको पाटो भने दु:खद् छ।

२०६७ चैत २१ गतेको सांस्कृतिक कार्यक्रममा ‘जग्गा प्राप्त भएको २ वर्षभित्र अस्पताल सञ्चालन गर्ने’ घोषणा गरिएको थियो। विडम्बना, १३ वर्ष पुग्दा पनि अस्पतालको आफ्नो भवन छैन। हाल रामनगरमा भाडाको घरमा मुटु अस्पताल र मिर्गौला उपचार केन्द्र सञ्चालन भइरहेको छ।

सुरुमा रामनगर सामुदायिक वनमा जग्गा लिने प्रयास भए पनि सफल भएन। पछि तिलोत्तमा नगरपालिकाको वडा नं. ४ मा रहेको १० बिघा जग्गा अस्पताललाई उपलब्ध गराउन नगरपालिकाको ४८औं कार्यपालिका बैठकले सिफारिस गर्ने निर्णय गरेको थियो।

अध्यक्ष आलम भन्छन्, ‘हामीले त्यो जग्गा प्राप्त भएको १ वर्षभित्र २ सय बेडको अस्पताल सञ्चालन गर्ने र १० वर्षभित्र ६ सय बेड थप गरी ८ सय बेड पुर्याउने योजना बनायौँ। सरकारको मापदण्ड अनुसार पर्याप्त पार्किङ, हरियाली र खाली जग्गा रहने गरी गुरुयोजना पनि बनायौँ। तर, जग्गा अहिलेसम्म प्राप्त भएको छैन।’

हाल उक्त जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको छ। तिलोत्तमा वडा नं. ४ को औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको उक्त जग्गा लिजमा प्राप्तिका लागि प्रक्रिया अघि बढेको र छिट्टै निकास निस्कनेमा अध्यक्ष आलम आशावादी छन्।

रोग लाग्न नदिन सचेतना अभियान
अस्पतालले उपचार मात्र होइन, रोकथामलाई पनि प्राथमिकतामा राखेको छ। आफ्नो सामाजिक उत्तरदायित्व सम्झँदै अस्पतालले हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

अस्पतालले २०८१ माघ १९ गतेदेखि २०८२ वैशाखसम्म मात्र विभिन्न जिल्लामा पुगेर गरेको निःशुल्क शिविरबाट ३ हजार ७५० भन्दा बढीले सेवा लिएका छन्। विगत १२ वर्षमा साविक लुम्बिनी अञ्चलका सबै जिल्लामा गरिएका शिविरबाट १ लाखभन्दा बढी सर्वसाधारण लाभान्वित भएको अस्पतालको तथ्याङ्क छ।

पुष २३, २०८२ बुधबार ११:४९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।