राष्ट्रिय सभा निर्वाचनका लागि एमालेद्वारा रामकुमारी झाँक्रीसहित ६ उम्मेदवारको टुंगो
काठमाडौं : एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
सत्तारुढ दल र एमालेबीच भएको सहमतिअनुसार एमालेको भागमा ७ सिट परेको थियो।
जसमध्ये ६ वटा प्रदेशका उम्मेदवारको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयसँगको परामर्शपछि टुंगो लगाएका हुन्। मधेश प्रदेशको एक सिटमा भने छलफल जारी रहेकाले निर्णय हुन बाँकी रहेको एमाले स्रोतले जनाएको छ।
एमालेले लुम्बिनी प्रदेशबाट नेतृ रामकुमारी झाँक्रीसहित कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दंगाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाएको हो।
एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति भएको थियो।
निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ।
पुष २३, २०८२ बुधबार १०:३७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।