कांग्रेस विशेष महाधिवेशनका लागि १८ वटा उपसमिति गठन, पार्टी कार्यालयको घटनाको छानबिन गर्न माग
काठमाडौं : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गरिरहेको समूहले आफ्नो तयारीलाई तीव्रता दिएको छ।
संस्थापन पक्षसँगको विवादका बीच विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा विभिन्न उपसमिति गठन गरेको छ।
विशेष महाधिवेशन पक्षधर नेता बलदेव तिम्लसिनाका अनुसार आगामी पुस २७ र २८ गते काठमाडौंमा हुने विशेष महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न १८ वटा समिति तथा उपसमितिहरू गठन गरेको हो।
विशेष महाधिवेशनको व्यवस्थापनका लागि पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रीय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, प्रदेश तथा पूर्व सांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात, आवास तथा खाना व्यवस्थापन, र सूचना तथा प्रचारप्रसार समिति गठन गरिएको छ।
यसैगरी, जिल्ला सम्पर्क, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तयारी र जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति बनाइएको छ। युवाहरूलाई जोड्न ‘जेन-जी युवा परिचालन’ समिति समेत बनाइएको तिम्लसिनाले जानकारी दिए।
‘पार्टी कार्यालयको घटनामा संलग्नता छैन’
यसैबीच, विशेष महाधिवेशन आयोजक समितिले एक विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयमा नेता विमलेन्द्र निधिमाथि भएको भनिएको दुर्व्यवहारको घटनामा आफ्नो समूहको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
जारी ९ बुँदे वक्तव्यमा भनिएको छ, ‘विशेष महाधिवेशनलाई बदनाम गर्ने उद्देश्यले उक्त घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको हुन सक्ने भएकाले यसको सत्य-तथ्य पत्ता लगाउन निष्पक्ष छानबिन गरिनुपर्छ।’
मंगलबार पार्टी कार्यालयमा संस्थापन पक्ष तथा नियमित महाधिवेशन पक्षधरका नेताहरू र केही कार्यकर्ताबीच भनाभनको स्थिति आएको थियो। संस्थापन पक्षले त्यसमा विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा संलग्न भएको आरोप लगाएका थिए।
उक्त समूहले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गरिएका निर्णयहरू आफूहरूलाई स्वीकार्य नभएको बताउँदै विशेष महाधिवेशनका सन्दर्भमा यसअघि बुझाइएका पत्रहरू पुनः स्मरण गराएको छ।
वैधानिक सर्वोच्चता कमजोर पार्ने र महाधिवेशन प्रतिनिधिहरूको मानमर्दन गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिँदै उनीहरूले गठन भएका सबै समितिले आजैदेखि सक्रिय रूपमा काम सुरू गरिसकेको जनाएका छन्।
पुष २३, २०८२ बुधबार ०९:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।