उदयपुरको सामुदायिक वनको ५ लाख बढी रकम हिनामिना, अध्यक्ष र लेखापरीक्षकसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं : उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष र लेखापरीक्षकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उदयपुरको त्रियुगा नगरपालिका-१ स्थित ‘जागृति महिला सामुदायिक वन उपभोक्ता समूह’को भवन निर्माण, सडक ग्राभेल र ग्यास सिलिण्डर वितरण लगायतका शीर्षकमा ५ लाख १५ हजार ३०२ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुक लाल चौधरी रहेका छन्।
कसरी भयो हिनामिना ?
आयोगको अनुसन्धान अनुसार पदाधिकारी र लेखापरीक्षकको मिलेमतोमा नभएको कामलाई भएको भनी देखाउने र वास्तविक खर्चभन्दा बढीको बिल भरपाई बनाएर रकम हिनामिना गरिएको पाइएको छ। हिनामिनाको विवरण यस्तो छ:
भवन निर्माण: प्राविधिक प्रतिवेदनमा ४ लाख ९५ हजार २५१ रुपैयाँ मात्र खर्च भएको देखिए पनि लेखापरीक्षण प्रतिवेदनमा ८ लाख ८ हजार ४५३ रुपैयाँ खर्च देखाई ३ लाख १३ हजार २०१ रुपैयाँ हिनामिना गरेको।
वन पैदावार संकलन: साधारण सभाले २ लाख ३७ हजार ८४३ रुपैयाँ अनुमोदन गरेकोमा ३ लाख ५४ हजार ६२४ रुपैयाँ खर्च देखाई १ लाख १६ हजार ७८१ रुपैयाँ हिनामिना गरेको।
सडक ग्राभेल: हुँदै नभएको सडक ग्राभेलको काम भएको भनी नक्कली खर्च देखाई ७७ हजार ६०० रुपैयाँ हिनामिना गरेको।
ग्यास सिलिण्डर वितरण: स्थलगत जाँचबुझबाट ५ लाख ९ हजार २०० रुपैयाँ खर्च पुष्टि भएकोमा ५ लाख १६ हजार ९२० रुपैयाँ खर्च देखाई ७ हजार ७२० रुपैयाँ हिनामिना गरेको।
आयोगले अध्यक्ष मिना कुमारी, सचिव जानकी कुमारी र कोषाध्यक्ष निलम चौधरीविरुद्ध ५ लाख १५ हजार ३०२ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो बमोजिमको जरिवाना र बिगो असुल बराबरको मागदाबी गरेको छ।
त्यस्तै, लेखापरीक्षक तनुक लाल चौधरीले नापी किताब र बिल भरपाई नहेरी, पदाधिकारीसँगको मिलेमतोमा बदनियतपूर्वक गलत लेखापरीक्षण प्रतिवेदन तयार पारेको भन्दै उनलाई पनि कैद र जरिवानाको सजाय माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
पुष २३, २०८२ बुधबार ०८:२७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।