कांग्रेसमा महाधिवेशन विवादको बाछिटा : निधिमाथि दुर्व्यवहारको विरोधमा काठमाडौं र जनपुरमा गगनको विरोध

कांग्रेसमा महाधिवेशन विवादको बाछिटा : निधिमाथि दुर्व्यवहारको विरोधमा काठमाडौं र जनपुरमा गगनको विरोध

काठमाडौँ : पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोधमा निधी पक्षका नेताहरू गगन थापा विरुद्ध उत्रिए।

कांग्रेस नेता निधी बैठकमा सहभागी हुन जाने क्रममा विशेष महाधिवेशन माग्दै विरोध प्रदर्शन गरिरहेको समूहले दुर्व्यवहार गरेका थिए। निधिमाथि भएको व्यवहारको महामन्त्री विश्वप्रकाश शर्मादेखि गगनसम्मले विरोध गरेका छन्।

तर निधी पक्षधर काङ्ग्रेसकै नेताहरू पार्टी महामन्त्री गगनको विरोधमा मशाल जुलुसदेखि चक्काजामसम्ममा उत्रिए। जनकपुरमा निधी समर्थकले मशाल जुलुस निकालेर गगनको पुत्ला जलाए। अनि काठमाडौंको कोटेश्वरमा पनि एक समूहले गगन विरुद्ध नाराबाजीसहित मशाल जुलुस निकालेर पुत्ला जलाए।

महाधिवेशन विवादको बाछिटा

सतहमा यो विरोधको कारण विमलेन्द्रमाथि भएको दुर्व्यवहार देखिए पनि महाधिवेशन विवादसँग जोडिएको छ। पार्टीमा अहिले वैशाखमा नियमित महाधिवेशन गर्ने र पुस अन्त्यमा विशेष महाधिवेशन गर्ने विवादमा पार्टी पङती विभाजित छन्।

विमलेन्द्र सहितका संस्थापन पक्षका नेता पहिला निर्वाचन अनि मात्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उनीहरूले मंसिर १५ मा नियमित महाधिवेशन बोलाएपछि विशेष महाधिवेशनको मागको औचित्य सकिएको दाबी गरिरहेका छन्।

उता गगनसहितको समूह विशेष महाधिवेशनको औचित्य सकिन पुस २८ अगाडि नियमित महाधिवेशन हुनुपर्ने तर तोकिएको महाधिवेशन सारेर वैशाख पुर्याएकाले विधान अनुसार पुस २८ भित्र विशेष महाधिवेशन हुनुपर्ने अडानमा छन्।

अडान मात्र हैन गगन र विश्वसहितका विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले आफ्नो तर्फबाट विशेष महाधिवेशन गर्न हल बुक गर्नेदेखि तयारी समिति समेत गठन गरिसकेका छन्। एक पक्ष दुवै समूहलाई मिलाएर विवाद समाधानको पक्षमा सक्रिय भए पनि सफल भएको छैन|

पार्टीको यही आन्तरिक विवाद सडकसम्म आइपुग्दा काङ्ग्रेसकै नेताहरू आफ्नै महामन्त्रीको विरोधमा मशाल जुलुस र पुत्ला जलाउने तहसम्ममा पुगेका छन्।

पुष २३, २०८२ बुधबार ००:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।