रविले सिधाकुरामा टीकापुर घटनालाई भनेका थिए “अमानवीय, हिंस्रक र जघन्य अपराध”

रविले  सिधाकुरामा टीकापुर घटनालाई भनेका थिए “अमानवीय, हिंस्रक र जघन्य अपराध”

काठमाडौं : “सिधा कुरा जनतासँग” कार्यक्रम चलाउँदा तथ्य भन्दा आक्रामक शब्द र शैली अपनाउने रवि लामिछानेले बलात्कारपछि हत्या गरिएको किशोरी निर्मला पन्त घटना होस् या टीकापुरमा एक नाबालक र ८ सुरक्षाकर्मी मारिएको घटना होस् दुवैमा उस्तै आक्रामक शब्द र शैलीकै प्रयोग गर्थे।

उनले कार्यक्रममा प्रस्तुत गरेका विवरणहरू भ्रामक भएको खुलेसँगै निर्मला पन्तबारे प्रसारित कार्यक्रमबारे उहिल्यै माफी मागेका थिए।

थरुहट आन्दोलनकोक्रममा टीकापुरमा जुन बर्बर घटना भयो यसबारे भने बल्ल सोमबार माफी मागे। सोमबार थरूहटको माग अगाडि बढाउने अभियन्ता र नागरिक उन्मुक्ति पार्टीको एक समूहका नेताहरूलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उपाध्यक्ष डीपी अर्यालले टिकापुर घटनालाई राजनीतिक घटनाको रूपमा स्वीकार गरेको भन्दै हस्ताक्षर गरे। अनि रविले कार्यक्रम सञ्चालकको रूपमा आफूले ८ वर्ष अगाडि भनेका कुराहरूबारे माफी मागे।

जातीय पहिचानबारे मात्र हैन रास्वपामाथि संघीयता र धर्म निरपेक्षताबारे समेत पटक पटक प्रश्न उठ्ने गरेका छन्। जातीय पहिचानबारे रास्वपाको धारणा प्रस्ट नभएको भन्दै उज्यालो नेपाल पार्टीका पहिचानवादी नेता रास्वपासँग पार्टी एकताको विपक्षमा उभिएको बेलामा उनको दलले सोमबार थरूहटलाई विशेष पहिचान दिने वाचासँगै सर्वोच्चले नै क्रूर र बर्बर भनेको टिकापुर घटनालाई राजनीतिक भएको स्वीकार गरे।

२०७४ मा उनले सिधा कुरा जनतासँग नामक कार्यक्रममा भने सर्वोच्चले फैसलामा प्रयोग गरेका शब्दहरू भन्दा पनि निकै कडा र आक्रामक शब्द प्रयोग गर्दै भनेका थिए “टिकापुर घटनालाई सरकार र मन्त्रिपरिषद्ले राजनीतिक घटना भन्ने दुस्साहस गर्दैछन् रे। सत्ता टिकाउन र भत्ता पचाउन गु र गोबर पनि चिन्न छाड्नुपर्यो कि क्या हो? राजनीति र अपराधको परिभाषा थाहा छैन?”

उनले राज्य, सरकार र राजनीति गर्ने हरेक राजनीतिज्ञले जनतालाई आफ्ना छोराछोरीसरह सम्झन सक्नुपर्छ भन्दै पैसा, पावर र स्वार्थका लागि टिकापुर घटनालाई राजनीतिक भन्ने दुस्साहस गरेको व्याख्या गरेका थिए।

उनले प्रश्न गरेका थिए “भाला रोपेर, लखेटी लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्रसेवकका विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भन सरकार-टिकापुर घटना राजनीतिक हो? आमाको काखमा रमाउँदै दूध खाँदै गरेका अबोध बालकको मृत्यु हुँदा वेदनाले ढलेकी र बेहोस भएकी उनकी आमाको होस अझैसम्म राम्रोसँग खुलेको छैन। यी आमाको आँखामा आँखा जुधाएर भन सरकार- टिकापुर घटना राजनीतिक हो कि एउटा अमानवीय, हिंस्रक र जघन्य अपराध?'

मधेस र थारूहरूप्रतिको विभेदको अन्त्य हुनुपर्ने भन्दै उनले जायज माग र मुद्दालाई सत्तामा पुग्ने भर्याङ बनाइरहेकाहरूको पहिचान गर्न सरकारलाई आग्रह गरेका थिए।

“यो देशको परिवर्तनमा मधेसले पनि तातो रातो रगत बगाएको छ। तर एम्बुलेन्सबाट थुतेर, लखेटी लखेटी मानिस मारेको घटना राजनीतिक होइन, अपराध हो भन्न नसक्ने हुतीहाराहरू कदापि यो मुलुक र मुलुकवासीका अभिभावक बन्न सक्दैनन्।”

जब उनी कार्यक्रम सञ्चालक थिए त्यो बेलामा सत्तामा रहेकाहरू हुतीहारा बन्दै, भोटको राजनीतिमा लागेर अपराधलाई राजनीतिक घटना भन्दै हुतीहारा बनेको टिप्पणी गरेका थिए। अहिले वाद, सोच, शैली केही नमिले पनि फागुन २१ को निर्वाचनमा बहुमत ल्याउने लोभमा उनी हुतीहारा भन्दै सर्वोच्चले क्रूर र अमानवीय भनेको घटनालाई राजनीतिक भन्ने स्थानमा पुगेका छन्।

पुष २२, २०८२ मंगलबार २१:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।