“समाचार त आए तर कार्साङमा लगानी गरेर हिरोइन भएको हैन”
एक वर्षअघि फिल्म ‘कार्साङ’बाट नेपाली कला क्षेत्रमा अभिनेत्रीमा डेब्यु गरेकी कलाकार सिर्जना निङलेखुले पहिलो फिल्मबाट सोचे जस्तो सफलता पाउन सकिनन्। तर उनको अभिनय यात्राले भने गति लियो। ‘कार्साङ’पछि ‘जारी २ : सङ अप च्याब्रुङ’ मा अभिनय गर्ने मौका पाएकी उनको अभिनय रहेको फिल्म ‘मिरमिरे’ प्रदर्शनको तयारीमा छ।
आगामी माघ १ मा रिलिज हुने मिरमिरे फरक कथामा बनेकाले यसबाट उनले दर्शकहरूको राम्रै माया पाउने आस गरेकी छिन्। डेब्युबाटै खारिएका अभिनेता दयाहाङ राईको टिमसँग काम गर्ने मौका पाएकी उनी कुनै बेलामा दमकको पाथीभरा एफएम र हिमशिखर टेलिभिजनमा कार्यक्रम चलाउँथिन्।
आरजे र भिजेको काम गर्दागर्दै नाट्यकर्मी अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएकी उनी विवाहपछि भने बेलायत पुगिन्। बेलायत पुगेकी उनी पुन कसरी अभिनयमा जोडिइन्? तीन फिल्ममा गरेको अभिनयको अनुभव कस्तो रह्यो? लगायतका विषयमा उनीसँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको सम्पादित अंश।
तेस्रो फिल्म रिलिज नजिकै छ। कत्तिको डर लागिरहेको छ?
पहिलो फिल्म कार्साङ रिलिजको बेलामा त धेरै डर लागेको थियो। तर तेस्रो फिल्म भएर होला त्यति डर लागेको छैन। तर हल्का नर्भस अनुभव त हुने रहेछ।
के कुराले नर्भस बनायो र?
हरेक फिल्ममा आफ्नो अपेक्षा उच्च हुन्छ। आफ्नो फिल्म नराम्रो हुन्छ,दर्शकले मन पराउनुहुन्न भन्ने कसले सोच्छ र? फिल्म रिलिज भइसकेपछि आफूले सोचे अनुसार दर्शकले लिनु हुन्छ कि हुन्न भन्नेले अलि नर्भस गराउने रहेछ।
टिजरमा त तपाई हराए जस्तो देखिन्छ। अभिनय बलियो छैन कि क्या हो?
टिजरको उद्देश्य लहै कथा यस्तो छ भनेर दर्शकहरूलाई कौतुहलता जगाउने हो। फिल्म बाउ छोरीको कथामा बनेको हो भनेर दर्शकलाई टिजरले जानकारी दिइसकेको छ। त्यसमा मेरो भूमिका शिक्षिकाको हो भन्ने देखिएको छ नि। अब ट्रेलरले अझ मेरो भूमिका प्रस्ट पार्ला नि।
पहिलो फिल्म ‘कार्साङ’ को कुरा गरौँ है त। बेलायत पुगेको मान्छे। फिल्ममा कसरी जोडिनु भयो?
यसअघि पनि फिल्ममा काम गर्ने चाहना त थियो। तर लिड रोलमै, त्यो पनि दया लाई ( दयाहाङ राई) सँग काम गर्न पाउँछु भन्ने सोचेको थिइन। त्यसैले कार्साङको डेब्यु मेरा लागि नसोचेको सफलता हो।
फिल्ममा कसरी जोडिनु भयो भन्ने जान्न चाहेको हो मैले।
ए...। सिनेमाटोग्राफर पुर दाइ (पुरुषोत्तम प्रधान)ले प्रस्ताव ल्याउनु भएको हो। उहाँसँग पहिल्यै फेसबुकमा साथी थिएँ। तर बोलेका रैन छौँ। उहाँले ‘फिल्ममा काम गर्न मन छ कि छैन?’ भन्नुभयो। सुरुमा त जिस्क्याउनु भा’को होला जस्तो पनि लाग्यो। ‘सिर्जना एउटा भूमिका यस्तो छ,गर्न सक्छौँ’ भन्नुभयो। दयालाईको अपोजिट भूमिका भन्ने थाहा पाएपछि हुन्छ भनेँ।
नाटकमा खारिएर फिल्म अभिनयमा आएको, त्यसमा पनि एकसेएक हिट फिल्मका नायक दयाहाङको अपोजिट भूमिका गर्न डर लागेन र?
मैले पहिला नाटकको कोर्स पनि गरिसकेको थिएँ। निकै पहिला अनुप बरालको स्टुडियोमा नाटकको कोर्ससँगै १८ औँ ब्याचका विद्यार्थीहरूले मिलेर नाटक पनि गरेका थियौँ। त्यसैले अभिनयमा कन्फिडेन्स त थियो। तर दयादाईकै अपोजिटमा डेब्यु हुन्छ भन्ने त कसले पो सोचेको हुन्छ र।
तर डेब्यु फिल्म सोचे जस्तो त चलेन नि।
फिल्म सफल-असफल जे भए पनि मैले जे भूमिका पाएँ त्यो सफलता हो। कथा अनि पात्र युनिक थियो। पात्र बुझ्न म जुन गाउँको कथा हो त्यहीँ गएर कति महिना बसेको छु। त्यसले अभिनय गर्न सहज भयो। त्यही फिल्ममा गरेको अभिनयका कारण अन्य फिल्ममा अफर आए।
प्राय विदेश गएकाहरू कलाकारको रूपमा भित्रँदा कलाकारको रूपमा देखिए पनि भित्री रूपमा भने लगानीकर्ता हुने गरेको देखिन्छ। यसमा पनि तपाई कलाकार मात्र हो कि लगानीकर्ता पनि?
अँ..। फिल्ममा मेरो लगानी छ भनेर केही न्युज पनि आएका थिए। तर मेरो आर्थिक लगानी थिएन। डेब्यु फिल्ममै दयाहाङ राईको अपोजिट भूमिका पाएकाले पनि शंका गरेको हुनसक्छ। अब उपेन्द्र सुब्बा दाइँहरूसँग काम गर्दा फिल्म बनाउन केही सहयोग गर्न सक्छु कि भन्ने हुन पनि सक्थ्यो होला। तर यो त टिम नै नयाँ थियो। मलाई अभिनयमा अफर आएको हो, लगानी गर्न हैन। त्यसमा मेरो लगानी भनेको अभिनय मात्रै हो।
पारिश्रमिक पाइयो त?
पारिश्रमिकको आस नगरेको सत्य हो। अफर आउँदा पारिश्रमिकबारे कुरा भएको पनि हैन। मैले पारिश्रमिक पाउँछु भनेर अभिनय गरेको हैन। तर उहाँहरूले दिनुभयो।
तेस्रो फिल्म मिरमिरेमा अभिनय गर्दाको अनुभव सुनौँ न?
मिरमिरेमा पनि कार्साङकै टिम भएकाले त्यति अप्ठ्यारो लागेन। आफ्नै परिवारको सदस्यसँग काम गरेको अनुभव भयो।
दुई वर्षमा तेस्रो फिल्म रिलिज हुँदैछ। टन्नै अफर आइरहेको छ कि क्या हो?
खतरै त हैन तर फिल्मको अफर आइरहेका छन्। फिल्म क्षेत्र मेरा लागि प्यासन हो। मैले यसमा अभिनय गरेर राम्रै दाम कमाइन्छ भन्ने लागेको पनि छैन। नामको लोभ त भइहाल्छ।
थप संवाद भिडियोमा :
पुष २२, २०८२ मंगलबार २०:१५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।