रेखालाई 'होम ब्यानर'को बहाना, ‘पारस’प्रति देखियो निखिलको चाहना !

रेखालाई 'होम ब्यानर'को बहाना, ‘पारस’प्रति देखियो निखिलको चाहना !

काठमाडौं : कुनै समय नेपाली चलचित्र उद्योगमा एक्सन अभिनेताका रूपमा निखिल उप्रेतीको एकछत्र राज थियो। विशेष गरी अभिनेता राजेश हमालसँगको सहकार्य र उनका एक्सन ‘स्टन्ट’ले दर्शकको मन जित्ने गर्दथ्यो।

धेरै युवाहरूका लागि उनी प्रेरणाका स्रोतसमेत बने। ‘पिँजडा’ डेब्यु गरेर लामो समयसम्म सफल चलचित्रको शृङ्खला दिएका निखिलको व्यावसायिक क्रेज पछिल्लो समयका ‘राधे’ र ‘पिँजडा ब्याक अगेन’ सम्म आइपुग्दा भने खस्कियो।

कमजोर कथावस्तुको छनोट र मेकिङमा नयाँपन नहुँदा उनका पछिल्ला चलचित्रहरूले बक्स अफिसमा अपेक्षित नतिजा निकाल्न सकेनन्। फिल्ममा व्यहोर्नुपरेको निरन्तरको व्यावसायिक असफलताले उनलाई केही समय अध्यात्मतर्फ डोर्यायो। 

यसैबीच, अभिनेत्री तथा निर्मात्री रेखा थापाको महत्त्वाकाङ्क्षी प्रोजेक्ट ‘३६ को आँकडा’मा निखिल देखिने चर्चा फिल्मी बजारमा चुलियो। तर, ‘घरेलु ब्यानर’मा मात्र काम गर्ने भनेर उनले उक्त प्रस्ताव अस्वीकार गरेको भनियो। हाल आफ्नै निर्देशनमा बन्न लागेको फिल्म ‘आचार्य’ मा व्यस्त रहेका निखिलले अन्ततः बाहिरी ब्यानरमा काम गर्ने निर्णय लिएका छन्।

पछिल्लो जानकारी अनुसार, निर्देशक तथा निर्मात्री कृषा चौलागाईंको आगामी एक्सन चलचित्र ‘पारस’मा काम गर्न निखिल राजी भएका छन्। उनीहरूबीच यस विषयमा मौखिक सहमति भइसकेको छ।

निखिल र रेखाले ‘हामी तीन भाइ’, ‘धड्कन’ र ‘क्रोध’ जस्ता थुप्रै हिट चलचित्रहरूमा सँगै काम गरेका छन्। एक समय उनीहरूबिचको व्यक्तिगत सम्बन्धमा आएको चिसोपनले गर्दा बोलचाल समेत बन्द भएको चर्चा थियो। 

‘३६ को आँकडा’ मार्फत यो चर्चित जोडीलाई पुनः पर्दामा हेर्ने दर्शकको चाहना भए पनि निखिलले यसमा रुचि देखाएनन्। कतिपयले रेखाको फिल्ममा नायिका नै बढी हाबी हुने र नायकको भूमिका खुम्चिने डरले पनि निखिलपछि हटेको हुनसक्ने अड्कलबाजी गरेका छन्।

लामो विश्रामपछि पर्दामा देखिन लागेका निखिलका लागि ‘पारस’ एक चुनौतीपूर्ण मोड हुन सक्छ। दर्शकले पुरानै शैलीमा भन्दा पनि नयाँपन र परिपक्व अभिनयमा हेर्न चाहन्छन्। फेरिएको दर्शकको रुचिअनुसार नयाँ शैलीको कथावस्तु र प्रस्तुतिका साथ पर्दामा देखिदा उनको कमब्याक सुखद हुने देखिन्छ। 

पुष २२, २०८२ मंगलबार २०:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।