‘बोक्सीको घर’ हिट हुँदा चिढिएका सुलक्षण र केकीको मिलन, ‘पेट्रोल पम्प’मा एकसाथ

‘बोक्सीको घर’ हिट हुँदा चिढिएका सुलक्षण र केकीको मिलन, ‘पेट्रोल पम्प’मा एकसाथ

काठमाडौं : नाटकलाई फिल्ममा रूपान्तरण गरिएको ‘बोक्सीको घर’ले गत वर्ष ‘ब्लकबस्टर’ फिल्मको सूचीमा स्थान बनायो।

फिल्मले घरेलु बक्सअफिसमा १० करोडभन्दा माथिको व्यापार गर्यो भने केही हलमा ५१ दिनसमेत मनायो। फिल्मले ५१ दिन नमनाउँदासम्म लेखक तथा निर्देशक सुलक्षण भारती र अभिनेत्री केकी अधिकारीको सम्बन्ध सुमधुर रह्यो।

फिल्मकी निर्मात्रीसमेत रहेकी केकी अधिकारीले आफ्नो फिल्मको ५१ दिन अष्ट्रेलियामा मनाइन् र उतै प्रदर्शन गरिन्। त्यसपछि निर्देशक सुलक्षण भारती आक्रोशित बने। उनले सामाजिक सञ्जालमा आफ्नो सिर्जनाको महत्त्व नबुझेको भन्दै केकीसँग चित्त दुखाए। आफूलाई अष्ट्रेलिया नलगेको विषयमा उनले फेसबुकमा आक्रोश पोखे। यसबारेमा केकी अधिकारीले खासै प्रतिक्रिया दिइनन्।

फिल्मको प्रमोसनल गीत ‘बुझिन मैले, बुझाइदेऊ कसैले’ संसद्सम्म गुन्जियो। सोही गीतबाट गायिका समीक्षा अधिकारीले देश तथा विदेशका स्टेजमा भ्याइनभ्याइ अवसर पाइन्। त्यो बेलाको चित्त दुखाइ बिर्सिएर अन्ततः केकी अधिकारी र निर्देशक सुलक्षणबीच दोस्रो फिल्ममा सहकार्य गर्ने सहमति भयो। मंगलबार बिहान उनीहरूले नयाँ फिल्म ‘पेट्रोल पम्प’ बनाउने घोषणा गरे।

नयाँ सहकार्यबारे केकीले लेखिन्, “कला अनि सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो। ‘बोक्सीको घर’ लाई यहाँहरूले दिनुभएको अपार माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ । हामीले नयाँ कुरा सोच्ने, नयाँ प्रयास गर्ने हिम्मत जुटाएका छौं।”

सुलक्षण भारतीकै कथा र निर्देशन रहने यो फिल्ममा कलाकार पुरानै रहने वा नयाँ भन्ने विषयमा निर्माण पक्षले केही खुलाएको छैन। उनीहरूका अनुसार यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउने छ। 

अभिनेत्री केकी अधिकारीले यसअघि निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ असफल रह्यो भने ‘बोक्सीको घर’ उनको करिअरकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो। 

पुष २२, २०८२ मंगलबार १९:०८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।