रिलायन्स स्पिनिङ मिल्सको आइपिओ प्रकरण: धितोपत्र बोर्डका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ प्रकरण: धितोपत्र बोर्डका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर सार्वजनिक निष्कासन प्रक्रियामा गम्भीर अनियमितता भएको दाबी गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

अध्यक्ष श्रेष्ठले कानुन उल्लंघन गर्दै रिलायन्सको संस्थापकहरूको प्रभावमा परी सर्वसाधारणको हक खोसेको र पदको दुरुपयोग गरेको उजुरीमा आरोप लगाइएको छ।

उजुरीमा प्रचलित कानुन (धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७५) अनुसार सर्वसाधारणलाई कम्तीमा १० प्रतिशत शेयर छुट्टाउनुपर्नेमा ६ प्रतिशत मात्रै दिएर बाँकी ४ प्रतिशत गैरकानुनी रूपमा संस्थागत लगानीकर्तालाई दिएको दाबी छ।

उच्च अदालत पाटनको परमादेशलाई गलत व्याख्या गरी सञ्चालक समितिबाट निर्णय नगराई अध्यक्ष एक्लैले 'तोक आदेश' मार्फत विवरणपत्र स्वीकृत गरेको, कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३३ लाख रुपैयाँ बक्यौतालाई 'कन्टेन्जेन्ट लायबिलिटी' (सम्भावित दायित्व) मा देखाएर प्रोभिजनिङ नगरेको र विवरणपत्रमा गलत तथ्य उल्लेख गरेको दाबी छ।

आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्मको नेटवर्थ गणना गर्दा वास्तविक विवरण लुकाई प्रिमियम मूल्य निर्धारण गर्न सघाएको भन्दै उजुरीमा अध्यक्ष श्रेष्ठले सर्वसाधारण लगानीकर्ताको हित विपरीत कार्य गरेको भन्दै उनलाई तत्काल निलम्बन गर्न माग गरिएको छ।

साथै, रिलायन्स स्पिनिङ मिल्सको हाल भइरहेको शेयर बाँडफाँड लगायतका सम्पूर्ण प्रक्रिया रद्द गर्न र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण हुनबाट रोक्न समेत उजुरीमा माग गरिएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र बीमा ऐनले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर सुनिश्चित गरेको सन्दर्भमा रिलायन्सको हकमा भने आम लगानीकर्तालाई उपेक्षा गरिएको दाबी निवेदनमा गरिएको छ।

पुष २२, २०८२ मंगलबार १६:२९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।