एशेजको अन्तिम टेस्टमा ट्राभिस हेड र स्टिभन स्मिथको शतक
एजेन्सी : सिड्नी क्रिकेट ग्राउण्डमा जारी पाँचौं ‘एशेज’ टेस्टको तेस्रो दिन ट्राभिस हेड र स्टिभन स्मिथको सानदार शतकको मद्धतले अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ।
तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ५१८ रन बनाएको छ, जसका कारण उसले पहिलो इनिङ्समा इंग्ल्याण्डमाथि १३४ रनको अग्रता लिएको छ।
तेस्रो दिनको सुरुवातसँगै ट्राभिस हेडले आफ्नो आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै १६६ बलमा १६३ रन बनाए। यो जारी शृङ्खलामा उनको तेस्रो शतक हो।
अर्कोतर्फ, कप्तान स्टिभन स्मिथले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै दिनको अन्त्यसम्म नटआउट १२९ रन बनाए। २०५ बलको सामना गरेका स्मिथले आफ्नो इनिङ्समा इंग्ल्याण्डका बलरहरूको कमजोरीको फाइदा उठाए। यो उनको ३७ औँ टेस्ट शतक हो।
स्मिथ एसेज इतिहासमा सबैभन्दा धेरै रन र शतक बनाउने खेलाडीको सूचीमा सर डोनाल्ड ब्राडम्यानपछि दोस्रो स्थानमा उक्लिएका छन्।
आफ्नो अन्तिम टेस्ट खेल खेलिरहेका उस्मान ख्वाजा ब्याटिङ गर्न आउँदा दर्शकले भव्य स्वागत गरेका थिए। तर, उनले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन्।
ख्वाजा मात्र १७ रन बनाएर ब्राइडन कार्सको बलमा आउट भए। आउट भएर प्याभिलियन फर्किँदा दर्शकले ताली बजाएर उनलाई बिदाइ गरेका थिए। यो नै उनको अन्तिम टेस्ट इनिङ्स हो।
इंग्ल्याण्डका बलरहरूले लय गुमाएको देखियो भने फिल्डिङ पनि निकै फितलो रह्यो। पहिलो सेसनमा इंग्ल्याण्डका खेलाडीहरूले चारवटा क्याच छोडेका थिए।
ज्याक क्रोलीले १२ रनमा स्मिथको र विल ज्याक्सले हेडको सहज क्याच छोड्दा इंग्ल्याण्डले ठूलो मूल्य चुकाउनुपर्यो। इंग्ल्याण्डका लागि माइकल नेसरले ४ विकेट लिए पनि अन्य बलरहरू महँगो साबित भए।
तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले १३४ रनको अग्रता लिएको छ। कप्तान स्मिथ १२९ रनमा र ब्यु वेबस्टर क्रिजमा छन्।
सिड्नीको गर्मी र पिचको अवस्थालाई हेर्दा चौथो दिन ब्याटिङ गर्न अझ कठिन हुने अनुमान गरिएको छ। अस्ट्रेलियाले यो खेल जितेमा ४-१ ले सिरिज जित्नेछ भने इंग्ल्यान्ड हावी भएमा ३-२ ले अष्ट्रेलिया नै विजयी हुनेछ।
पुष २२, २०८२ मंगलबार १४:१६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।