नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुनपर्ने अध्यक्ष चन्दको ठोकुवा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भइसकेकाले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको ठोकुवा गरेका छन्।
सोमबार जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले सन् २०१४ को बंगलादेश विश्वकपको स्मरण गर्दै त्यसयता नेपाली क्रिकेटले ठूलो फड्को मारेको बताए।
‘त्यतिबेला १६ टोली सहभागी थिए भने अहिले २० टोली छन्। सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ,’ उनले भने।
अध्यक्ष चन्दले खेलमा जित-हार सामान्य प्रक्रिया भए पनि बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टोलीविरुद्धको प्रदर्शनले विश्व मञ्चमा नेपालको दरिलो उपस्थिति जनाएको दाबी गरे।
‘त्यो प्रदर्शनपछि नेपाली क्रिकेट अझ माथि जान्छ भन्ने विश्वास बलियो भएको छ,’ उनले थपे।
उनले नेपाली क्रिकेटलाई अब आम नागरिक, राजनीतिक दल र सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
‘जनताको अपेक्षा अनुसारको नतिजा आएको छ, अब यसलाई संस्थागत रूपमा अगाडि बढाउन सबैको सहयोग अपरिहार्य छ,’ उनले जोड दिए।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका थिए।
पुष २२, २०८२ मंगलबार १०:२६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।