दुई वर्षको अन्तरालमा चार वटा जर्सी लगाउँदै नेपाली क्रिकेट टोली

दुई वर्षको अन्तरालमा चार वटा जर्सी लगाउँदै नेपाली क्रिकेट टोली

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’को सहकार्यमा काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको हो।

आगामी सातादेखि सुरु हुने वुमन्स टी-२० विश्वकप छनोटमा महिला टोलीले र सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपमा पुरुष टोलीले नयाँ जर्सी लगाएर खेल्ने छन्।

सार्वजनिक गरिएको नयाँ जर्सीले सन् २०१४ को विश्वकपको याद दिलाउँछ। झट्ट हेर्दा अहिले सार्वजनिक गरिएको जर्सी २०१४ को जर्सीसँग मिल्दोजुल्दो देखिन्छ।

चार महिनामै दोस्रो पटक जर्सी परिवर्तन

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी परिवर्तनमा भने खेलमा देखिने उतारचढाव जस्तै देखियो। पछिल्लो चार महिनाको अवधिमा यो दोस्रो पटक सार्वजनिक गरिएको जर्सी हो। यसअघि गत असोज ७ गते मात्र नयाँ जर्सी सार्वजनिक गरिएको थियो।

त्यसभन्दा अघि २०८० साल चैत २६ गते पनि जर्सी फेरिएको थियो। यसरी हेर्दा दुई वर्षको अन्तरालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो पटक नयाँ जर्सी प्रयोग गर्न लागेको छ। छोटो समयमा भएको जर्सी परिवर्तनले समर्थकमाझ केही चर्चा र जिज्ञासा उत्पन्न गराएको छ।

नेपालले तेस्रो पटक आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकप खेल्दै छ। जर्सी सार्वजनिक कार्यक्रममा आईसीसी टी-२० विश्वकप ट्रफी पनि प्रदर्शनीमा राखिएको थियो। 

पुष २१, २०८२ सोमबार २२:२६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।