निर्णायक शक्ति बन्ने दाबी गर्दै वाग्लेले भने : रास्वपालाई च्याँखे थाप्ने पार्टी बनाउन चाहेनौं

निर्णायक शक्ति बन्ने दाबी गर्दै वाग्लेले भने : रास्वपालाई च्याँखे थाप्ने पार्टी बनाउन चाहेनौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफूहरू गणितीय खेलमा अल्झिने 'म्युजिक नम्बर' को शक्ति नभई देशको निर्णायक शक्ति बनाउने अभियानमा अघि बढेको दाबी गरेका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा बोल्दै उनले युवाहरूको आकाङ्क्षालाई बोक्ने निर्णायक शक्ति बन्न विभिन्न दल र समूहसँग एकताको प्रक्रिया अघि बढाएको बताए। 

संसद्मा २१ सिटमा सीमित हुँदा पुराना दलहरूले रास्वपालाई घेराबन्दी गरेको अनुभव सुनाउँदै उनले भने, "२१ सिटमा सीमित रहँदा सङ्घीय संसदमा हामीलाई कसरी न्याकेर भित्तामा पुर्याउँदा रहेछन् भन्ने कुरा चार पाँच महिना अघिसम्मको दृष्टान्तमा देख्नुभयो। त्यसैले हो, २१ बाट आँखा चिम्लेर ५१ पुगिन्थ्यो। ५१ बाट ७१ हुँदै ९१ पुगिन्थ्यो होला। तर, च्याँखे थाप्ने पार्टी, म्याजिक नम्बर यताउता गर्ने पार्टीमा हामी रमाउन चाहेनौं।"

रास्वपालाई २१ औँ शताब्दी अनुकूलको युवाहरूको आकांक्षा बोक्ने पार्टी बनाउने सङ्कल्प दोहोर्याउँदै उनले भने, "हामी १५१ सिट ल्याएर आएर, बहुमत ल्याएर आएर यो देशको निर्णायक शक्ति र २१ औ शताब्दी अनुकूलको पार्टी बनाउन चाहन्छौं। युवाहरूको आकाङ्क्षालाई बोक्ने पार्टी बन्न चाहन्छौं।"

पार्टी विस्तारको क्रममा रास्वपाले विभिन्न क्षेत्रका युवा र अभियानहरूलाई गोलबन्द गरिरहेको उल्लेख गर्दै वाग्लेले भने, "यही महत्त्वाकाङ्क्षा साथ हामीले ठूलो छाती गरेर बालेन्द्र शाहसँग, कुलमान घिसिङको उज्यालो पार्टी, विवेकशील साझा पार्टी, नयाँ शक्तिका युवाहरू र आज थरुहट थारुवान् अभियानसँग सम्बन्ध व्यक्तिहरूलाई रास्वपामा भित्र्याएका छौं।"

थरुहट थारुवान् अभियानसँग आबद्ध व्यक्तित्वहरूको आगमनले सामाजिक न्यायका दृष्टिकोणबाट एकता समायोजन सभा ऐतिहासिक साबित हुने उनको विश्वास छ। उनले भने, "सामाजिक न्यायका कोणबाट यो ऐतिहासिक साबित हुनेछ। सामाजिक न्याय र समुन्नतिको विशाल अभियान रास्वपाको माध्यमबाट अगाडि लैजानेछौं।"

उपसभापति वाग्लेले रास्वपा कुनै एउटा वर्ग वा क्षेत्रको मात्र नभई सिङ्गो मुलुकको साझा चौतारी हुने दाबी गरे। उनले भने, "हामीले रास्वापालाई राष्ट्रको ऐना, यो राष्ट्रको आँगन र यो राष्ट्रको साझा फूलबारीका रूपमा अगाडि लैजान चाहन्छौं।"

पुष २१, २०८२ सोमबार १७:५३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।