बेलैमा अस्पताल पुग्न नसक्दा ज्यान गुम्नु अकाल मृत्यु कि राज्यले गरेको हत्या ?

बेलैमा अस्पताल पुग्न नसक्दा ज्यान गुम्नु अकाल मृत्यु कि राज्यले गरेको हत्या ?

रिफर गरिएको सम्पन्न अस्पतालमा पुग्न नपाउँदै भर्खरका एक युवकको ज्यान गुमेको खबरले मन भारी बनायो। ठूलिभेरी नगरपालिका ४ का ३५ वर्षीय एक युवक पुस ९ को बिहान आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भए। दुर्घटनापछि दुई जना घाइतेलाई उपचारकालागि जिल्ला अस्पताल पुर्याइयो।

अस्पतालमा एक्स-रे गर्दा न्युमोथोराक्स देखियो, अर्थात् छातीमा हावा भरिएर फोक्सो खुम्चने अवस्था। यस्तो अवस्थामा बिरामीको छातीमा पाइप राखेर जम्मा भएको हावा तत्काल निकालेर आइसियुमा उपचार गर्नुपर्छ।

सोहीअनुसार जिल्ला अस्पतालका चिकित्सकहरूले बिरामीको छातीमा पाइप राखेर थप उपचारको लागि तुरुन्तै जिल्ला बाहिरको सुविधा भएको अस्पताल लैजान सुझाव दिए। घाइतेका आफन्त रकम जोहो गर्नतिर लागे।

सामान्य नेपालीलाई एकमुस्ट आठ-दश लाख जम्मा गर्नु फलामको चिउरा चपाएजस्तै थियो। तैपनि परिवारले ज्यान जोगाउन ऋण सापट गरेर रकम जुटाए। पैसा जोहो गरेर हेलिकप्टर कम्पनीसँग कुरा गर्दा दिउसको २ बजे मात्र हेलिकप्टर दुनै आइपुग्यो। दुर्घटना भएको ६ घण्टापछि उपचारको लागि सम्पन्न अस्पतालको लागि हेलिकप्टर उड्यो। स्वास्थ्यकर्मीले घाइतेलाई हेलिकप्टर त चढाए तर दुर्भाग्यवश काठमाडौंको एक अस्पतालको हेलिप्याडमा हेलिकप्टर उत्रन नपाउँदै उनको ज्यान गयो। घाइतेको ज्यान पनि गयो अनि परिवारले ऋण पनि बोके।

यो सामान्य दुर्घटनामा परेर अकालमा भएको मृत्यु जस्तो लाग्न पनि सक्छ। तर यो युवकको मृत्यु दुर्घटनाका कारण मात्र होइन, समयमै आवश्यक उपचार नपाउनु पनि कारक हो।

यदि जिल्ला अस्पतालमै आवश्यक स्वास्थ्य सुविधा हुन्थ्यो त यो अकाल मृत्यु टर्न सक्थ्यो। तर जिल्ला अस्पतालमा आवश्यक सुविधा नहुनु अनि युवक समयमै सुविधा भएको अस्पताल पुग्न नसक्दा ३५ वर्षको उमेरमै उनको ज्यान गयो।

राज्यले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्यका लागि केही गर्दै नगरेको भने हैन। केही महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालनमा छन्। म आफै चिकित्सकको रूपमा चार वर्ष डोल्पाको अस्पतालमा काम गर्दा राज्यले दुर्गम नागरिकका लागि गरेका केही सकारात्मक प्रयास नजिकबाट देखेको छु।

विशेषगर गर्भवती तथा सुत्केरी आमाको ज्यान जोखिममा परेमा अथवा कुनै जटिलता आएमा गरिने निःशुल्क हवाई उद्धार कार्यक्रमले थुप्रै आमाहरूको ज्यान जोगाएको छ। तर केही सकारात्मक प्रयास भए पनि डोल्पाली नागरिकले पूर्ण स्वास्थ्य सुविधा भने पाउन सकेका छैनन्।

ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवती आमाको निःशुल्क हवाई उद्धार कार्यक्रमले समस्यामा परेमा आमाहरूले उपचारका लागि प्रदेश अस्पताल पुग्न ऋण खोज्न भौँतारिनु पर्दैन। पालिका, स्वास्थ्य चौकी तथा अस्पतालले प्रशासनलाई खबर गरेपछि र आवश्यक कागजात बुझाएपछि नेपाली सेनाले निःशुल्क हवाई सेवा उपलब्ध गराउँछ।

यही कारण धेरै आमाहरू अकाल मृत्युबाट जोगिएका पनि छन्। तर विडम्बना,  सुत्केरी बाहेकका गम्भीर बिरामीले यस्तो सुविधा पाउन सकेका छैनन्। डोल्पाबाट सुविधा सम्पन्न अस्पतालमा पुग्न कम्तीमा ८ देखि १० लाख रुपैयाँ नभएसम्म सम्भव नै हुन्न।

रकम नहुँदा र समयमै रिफर गरेको अस्पतालसम्म पुग्न नसक्दा ती युवाको जस्तै उपचारबाट जोगिनसक्ने ज्यान पनि गुमिरहेको छ। जिल्लामा सुविधासम्पन्न अस्पताल नभएकै कारण आन्द्रामा प्वाल परेमा, चोटपटक, दुर्घटनाको कारण टाउको लगायत गम्भीर चोट लागेमा, स्ट्रोक लगायतका समस्याबाट ज्यान जोखिममा परेकाहरूले सहज उपचार पाउँदा ज्यान जोगिनसक्ने भए पनि मृत्यु हुने गरेको छ।

चार वर्षको सेवा अवधिमा जिल्ला अस्पतालबाट रिफर गरेका थुप्रै बिरामीहरू समयमै अस्पताल पुग्न नसक्दा ज्यान गएको पिडादायी दृश्य आफैँले देखेको छु।

यस्तै पिडाहरू नजिकबाट देखेपछि पटक-पटक कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयदेखि मुख्यमन्त्रीसम्मलाई दुर्गम क्षेत्रका अत्यन्त गम्भीर बिरामीहरूका लागि पनि निःशुल्क उद्धार व्यवस्था गर्न आग्रह गरेको थिएँ।

जसरी ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी आमाहरूलाई राज्यले निःशुल्क उद्धार गरेर बचाएको छ,  त्यसरी नै दुर्घटनामा परेका, तत्काल शल्यक्रिया गर्नुपर्ने वा आइसियूमा राख्नुपर्ने बिरामीहरूलाई कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतसम्म निःशुल्क उद्धार गर्ने व्यवस्था गरिदिए धेरैको अकाल मृत्यु रोकिन सक्छ।

अझ राज्य वा प्रदेश सरकारले नीति नै बनाएर डोल्पा लगायत हिमाली जिल्लामा हालका लागि जिल्ला अस्पतालमा आएका र अस्पतालको सिफारिसका आधारमा मात्र सञ्चालन हुने निःशुल्क उद्धार गर्ने व्यवस्था गरे धेरैको ज्यान जोगिन सक्थ्यो।

यति भनिरहँदा अझै पनि माथिल्लो डोल्पाका तीन पालिका शे-फोक्सुण्डो, डोल्पो बुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा बिरामी पर्दा भोग्नुपर्ने दुख कष्ट थप भयावह छ। उपल्लो डोल्पासम्म सडक नपुग्नु, सदरमुकाम झर्न एकसाता लाग्नु ,बिरामी पर्दा लाखौँ खर्च गरेर हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता छ त्यहाँ।

आम्दानीको मुख्य स्रोतको रूपमा रहेको यार्सागुम्बा लोप हुँदै जानुले पनि उपल्लो डोल्पाका धेरैजसो स्थानीय स्वास्थ्य उपचारकै लागि ऋणमा डुबेका छन्। यहाँका नागरिकका लागि जुनसुकै प्रकृतिका जटिल स्वास्थ्य समस्या देखिदा ज्यान जोगिनसक्ने विकल्प हवाई उद्धार मात्रै हो।

केही समय अगाडि कर्णाली प्रदेश सरकारले दिगो विकासमा स्वास्थ्य क्षेत्रको योगदान बढाउने उद्देश्यसहित रणनीतिक अस्पताल निर्माण गर्ने घोषणा गरेको पनि थियो। सामाजिक विकास मन्त्रीद्वारा गरिएको घोषणा अनुसार १२ वटा रणनीतिक अस्पतालमध्ये डोल्पाको मुड्केचुला गाउँपालिका पनि परेको थियो। तर त्यो अस्पताल अझै बनेको छैन।

माथिल्लो डोल्पाका तीन पालिकालाई सहज हुनेगरी कम्तीमा पाँचदेखि १५ शैयाको सुविधायुक्त अस्पताल निर्माण गर्नु सबैभन्दा उत्तम विकल्प हो। यस प्रकारको अस्पताल नबनेसम्म ज्यान जोखिममा रहेका बिरामीहरूलाई राज्यले हवाई उद्धार गर्नैपर्छ।

राज्यको सुविधा सम्पन्न शहरी क्षेत्रका लागि मात्रै हैन, दुरदराजका नागरिकले पनि अत्यावश्यक सुविधा पाउनु उनीहरूको नागरिक हक हो। डोल्पालीका लागि सिंहदरबार टाढा छ। अब सिंहदरबारमा रहेकाहरूले उनीहरूलाई कुरेर बस्ने हैन, उनीहरू भएको ठाउँमा पुग्न सक्नुपर्छ।

अन्य पक्षमा बिस्तारै योजना बनाउन सकिन्छ। तर कमसेकम अकाल मृत्यु रोक्न सरकारले तत्काल गर्भवती र सुत्केरीको उद्धार जस्तै हिमाली भेगका नागरिकका लागि आकस्मिक स्वास्थ्य उपचारका लागि पनि हवाई उद्धारको सुविधा दिनै पर्छ।

राज्यले दिनुपर्ने सुविधा नदिँदा यदि कुनै नागरिकको मृत्यु हुन्छ भने त्यो अकाल मृत्यु मात्र हुन सक्दैन। त्यो हत्या हुन्छ र त्यसको जिम्मेवारी केन्द्रीय सत्ताले लिनै  पर्छ।

पुष २१, २०८२ सोमबार १६:३९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।