पूर्वाधार पुनःनिर्माण कोषमा १३ करोड सङ्कलन, सहयोग गर्नेलाई कर छुटको सुविधा

पूर्वाधार पुनःनिर्माण कोषमा १३ करोड सङ्कलन, सहयोग गर्नेलाई कर छुटको सुविधा

काठमाडौं : गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार सोमबार बिहानसम्म उक्त रकम जम्मा भएको हो। कोषमा सोमबार मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ। 

गत हप्ता मेटलाइफ नेपालले २५ लाख र त्यसअघि दि ओरिएण्टल इन्स्योरेन्सले २० लाख सहयोग गरेका थिए। जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण लागि सरकारले उक्त कोष स्थापना गरेको थियो। 

कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृ निकायलगायतलाई आग्रह गरेको थियो। पुनःनिर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ।

पुनःनिर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ। योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन्।

पुष २१, २०८२ सोमबार १४:१२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।