आयोगलाई बयान दिएपछि ओलीको स्थान हद फुकुवा

आयोगलाई बयान दिएपछि ओलीको स्थान हद फुकुवा

काठमाडौं : एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।

जेनजी आन्दोलनपछि भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले घरमै गएर बयान लिइसकेपछि उनको स्थान हद फुकुवा गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

भदौ २३ र २४ गते भएको आन्दोलनमा ७० जनाभन्दा बढीको ज्यान गएको र सरकारी संरचनामा भएको क्षतिबारे छानबिन गर्नका लागि बनेको आयोगले उनलाई विदेश भ्रमणमा रोक र काठमाडौं उपत्यका छाडेर बाहिर जानुपरे सोधेर मात्र जान पाउने गरी स्थान हद लगाएको थियो।

त्यसपछि बनेको ‘सुशीला कार्कीको सरकारलाई मान्दिन, आयोगमा बयान पनि दिन्न’ भन्दै उत्तेजक अभिव्यक्ति दिइरहेका ओलीसँग आइतबार आयोगका पदाधिकारी उनकै निवास बालकोटमा पुगेर लिखित बयान लिएका थिए।

यसअघि निर्वाचनको वातावरण बनाउनका लागि तीन दलका शीर्ष नेताहरूसँग राष्ट्रपति र प्रधानमन्त्रीले गरेको वार्तामा दलका नेताहरूलाई स्थान हद लगाएर निर्वाचनको वातावरण नबन्ने बताएका थिए।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले त्यसका लागि आफूले आयोगसँग छलफल गर्ने बताएका थिए। आयोगले स्थान हद लगाएका सबैको बयान लिएपछि फुकाउँदै गएको थियो।

पुष २१, २०८२ सोमबार १४:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।