दृष्टिविहीन प्रशिक्षक सुनिताको प्रसव पीडा र खुसी : बिहे नगरे पनि हुन्छ, तर आमाचाहिँ बन्नुपर्छ
सुनिता थापाको परिचयका आयाम अनेक छन्। नेपाल अपाङ्ग महिला सङ्घको सचिव, समन्यायिक केन्द्रको संस्थापक अध्यक्ष, लाइन्स क्लब अफ कैलाश भूमिको सचिवदेखि नेपाल दृष्टिविहीन कल्याण सङ्घको बोर्ड सदस्यसम्म।
सामाजिक अभियन्ताका रूपमा उनी जति सक्रिय छिन्, लैङ्गिक समानता र अपाङ्गतासम्बन्धी नीति निर्माणमा उनको दख्खल उति नै बलियो छ। लाखौं अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि लड्दा र उनीहरूको नेतृत्व विकासमा जोडिँदा उनी आफू हुनुको अर्थ भेट्टाउँछिन्।
तर, यी तमाम सार्वजनिक परिचय र जिम्मेवारीहरूको भीडमा सुनिताको एउटा यस्तो निजी र प्रिय परिचय छ, जसमा उनी सबैभन्दा बढी रमाउँछिन्। त्यो हो- आमा।
जीवनमा जतिसुकै हण्डर र ठक्कर खाए पनि मातृत्वको अनुभवले नै आफूलाई पूर्ण बनाएको उनको बुझाइ छ। १३ वर्ष लामो शिक्षण पेसाको अनुभव संगालेर स्वतन्त्रताको खोजीमा सामाजिक क्षेत्रमा हाम फालेकी सुनिताको जीवन सङ्घर्ष र साहसको पर्याय हो।
सानैदेखि चञ्चल स्वभावकी सुनिताले बाल्यकालमा उज्यालो र अँध्यारो छुट्याउन सक्थिन्। तर, समयसँगै भएका विभिन्न दुर्घटनाले उनको आँखाको ज्योति खोस्यो। दृष्टि गुमे पनि उनले जीवनको लय गुमाइनन्।
पढाइमा अब्बल रहिन्, सक्षमतामा निखार ल्याइन्। आज तिनै सुनिताले उकेराको साप्ताहिक स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो जीवन, विवाह र मातृत्वको रोमाञ्चक अनुभव यसरी पोखेकी छिन्:
०००
म काठमाडौंको बुढानीलकण्ठमा एउटा ठूलो परिवारमा जन्मिएँ। मेरो बुबा पेसाले भान्से (कुक) हुनुहुन्थ्यो भने आमा बुढानीलकण्ठ स्कुलमै काम गर्नुहुन्थ्यो। सन्तानको सङ्ख्या बढ्दै गएपछि आमाले स्कुलको काम छोड्नुपर्यो।
ठूलो परिवार भए पनि मेरो बाल्यकाल राम्रोसँग बित्यो। घरमा मैले कहिल्यै पनि आफू अपाङ्गता भएकोमा हीनताबोध गर्नुपरेन। परिवारको माया र साथले मलाई सधैँ अगाडि बढ्ने हौसला मिलिरह्यो।
पढाइका लागि म भक्तपुरस्थित दृष्टिविहीनलाई पढाउने स्कुलमा भर्ना भएँ। तुलनात्मक रूपमा मैले सानै उमेरमा एसएलसी पास गरेँ। त्यतिबेला म थिमीमै बस्ने भएकाले त्यहाँको एउटा स्थानीय एफएममा काम गर्न थालेँ। साथै,परामर्शका कामहरूमा पनि सक्रिय हुन थालेँ। यी दुवै कामबाट त्यसबेला म राम्रै पैसा कमाउँथे।
म आर्थिक रूपमा आत्मनिर्भर थिएँ र मलाई साथीहरूको खासै जरुरत पर्दैन थियो। तर, दुर्घटनामा परेपछि जब मैले दुवै आँखाको दृष्टि पूर्ण रूपमा गुमाउनुपर्यो, त्यसपछि भने कोही एकजना साथमा भइदिए सहज हुन्थ्यो भन्ने महसुस हुन थाल्यो। यद्यपि, म आज पनि सकेसम्म आफ्ना सबै काम आफैँ गर्न रुचाउँछु।
घरपरिवारबाट त मैले कहिल्यै नराम्रो व्यवहार भोग्नुपरेन, तर समाज र छिमेकीको नजर भने सधैँ बिझाउने खालको हुन्थ्यो। छिमेकीहरूले कुरा काटेको सुन्थेँ- ‘यस्तीलाई कसले बिहे गर्छ?’ उनीहरूको प्रश्नमा सहानुभूतिभन्दा बढी हेला मिसिएको हुन्थ्यो।
तर, २१ वर्षको उमेरमै मेरो विवाह भयो। अहिले फर्केर हेर्दा लाग्छ- मैले किन त्यति छिटो बिहे गरेँ हुँला? कहिलेकाहीँ त बुवाआमासँग चित्त पनि दुख्छ, मेरो किन यति चाँडै बिहे गराइदिए होलान् भन्ने लाग्छ।

मेरो विवाह मागी नै भएको हो। त्यतिबेला म अफिसमा काउन्सिलिङको काम गर्थें। एकजना साथीले प्रस्ताव ल्यायो, ‘एउटा नेवार केटा छ, बिहे गर्ने हो?’ मैले त सुरुमै, ‘नेवारसँग मेरो बाउले दिँदैनन्’ भनेर टार्न खोजेकी थिएँ। म क्षेत्रीको छोरी, अन्तरजातीय विवाह पक्कै सजिलो थिएन।
तर, साथीले हार मानेनन्। उनले ‘त्यो घरमा नेवार-क्षेत्री-बाहुन सबै मिसमास छ’ भनेर आफैँले कुरा अगाडि बढाइदिए। सुरुमा मेरो घरमा मान्नुभएको थिएन, तर कुरा मिलेपछि एक महिनाभित्रै हाम्रो विवाह भयो।
त्यतिबेला श्रीमान् मोबाइल बनाउन सिकाउने काम गर्नुहुँदो रहेछ। उहाँलाई मेरो आवाज मन परेको थियो रे! सायद रेडियोमा काम गर्ने भएर मेरो बोल्ने शैली राम्रो लागेको हुन सक्छ। उहाँ पनि पूर्ण दृष्टिविहीन हुनुहुन्न, अलिअलि उज्यालो र अँध्यारो छुट्याउन सक्नुहुन्छ।
हाम्रो विवाह त धुमधामले भयो, तर बिहेपछिको जीवन भने सोचेभन्दा नितान्त फरक हुने रहेछ। माइतीमा कति धेरै स्वतन्त्र भएर हिँडेको, सक्षम भएर दुई-दुई ठाउँमा काम गर्दै हिँडेको मान्छे म; बिहेपछि सम्बन्धको डोरीमा बाँधिदा निकै गाह्रो भयो।
घरपरिवार र अनेकौँ नाता सम्बन्धमा बाँधिदा त कहिलेकाहीँ आफूलाई नै बिर्सनुपर्ने रहेछ। म ठूलो भए पनि एकल परिवारमा हुर्किएकी थिएँ, त्यसैले माइतीको वातावरण मलाई सहज लाग्थ्यो। तर, घरमा ठूलो संयुक्त परिवार भएकाले त्यो माहोलमा घुलमिल हुन मलाई समय लाग्यो।
मेरो स्वभाव पनि अलि ठाडो थियो, मनमा लागेको कुरा ‘प्याच्चपुच्च’ भनिहाल्ने। घरमा बुहारी भएर यस्तो गर्न हुन्छ/हुँदैन, यस्तो भन्न हुन्छ/हुँदैन भन्ने कुराहरू सुन्नुपर्दा मलाई निकै अप्ठ्यारो लाग्थ्यो। यही असहजताले गर्दा म प्रायः माइतीमै बस्न थालेँ। माइतीमै बसेका कारण मैले बिहेपछि पनि आफ्नो पढाइ पूरा गर्न पाएँ। श्रीमान्ले पनि मेरो बाध्यता र स्वभाव बुझ्नुभएको थियो, त्यसैले उहाँको साथ सधैँ रह्यो।
विवाहपछि पारिवारिक जिम्मेवारी र बसाइको अस्थिरताले गर्दा मैले एफएमको जागिर छोडेँ। त्यो काम छोडेपछि मलाई आर्थिक अभाव महसुस हुन थाल्यो। त्यसपछि मैले अर्को काम पनि छोडेर शिक्षण पेशा अँगालेँ। करिब १३ वर्षजति काठमाडौंको एउटा सरकारी विद्यालयमा पढाएँ।
विवाह भएको तीन वर्षपछि हाम्रो जीवनमा नयाँ खुसीको आगमन भयो- हाम्रो सन्तान जन्मियो। त्यसबीचमा पनि घर र माइती दुवैतिरबाट सन्तान हुनुपर्छ भन्ने दबाब पनि नआएको होइन। त्यही बेला गर्भ बसेछ। सुरुमा त म आफैँ छक्क परेँ, ‘ला! अब के गर्ने?’ भन्ने लाग्यो। तर, मनमनै अठोट गरेँ- विवाह र परिस्थिति जस्तोसुकै भए पनि यो सन्तानलाई म जन्म दिन्छु। उसलाई जन्माउन र हुर्काउन म आफैँ सक्षम छु।
मैले छ महिनासम्म यो कुरा आमाबाहेक कसैलाई भनिनँ। श्रीमान्लाई पनि ‘घरमा कसैलाई नभन्नु’ भन्ने सर्त राखेर मात्र सुनाएकी थिएँ। किनकि, बच्चा भयो भने बुहारी घरमै बस्छे भन्ने धारणा परिवारमा थियो, जुन मलाई सहज लागिरहेको थिएन।
छ महिनापछि जब पेट बढ्न थाल्यो, बल्ल सबैले थाहा पाए। कुरा थाहा पाएपछि सासूआमालाई लिएर अस्पताल जचाउन गएँ। गर्भावस्थाभरि अस्पतालबाट पनि मैले राम्रो स्याहार र परामर्श पाएँ।
२३ वर्षको उमेर भए पनि कसै-कसैले ‘बच्चाले बच्चा पाउन लाग्यो’ भनेको सुन्नुपर्यो। तर, हामी आमा र बच्चा दुवै स्वस्थ थियौँ। बच्चाको आगमन हुँदैछ भन्ने थाहा पाएपछि मनमा बेग्लै रमाइलो र उत्साह छाएको थियो। गर्भवति हुँदा सुरुका तीन महिना भने खानपिनले निकै सतायो। अन्न देख्नै नसक्ने, मासु त झन् हेर्नै मन नलाग्ने।
म फलाहार, उसिनेको आलु र पिँडालु धेरै खान्थेँ। कहिलेकाहीँ जबर्जस्ती खाना खाएँ भने भित्रैबाट गाह्रो भएजस्तो हुन्थ्यो। त्यो समय सम्झिँदा अहिले लाग्छ- मान्छे अन्न नखाएर पनि बाँच्न सक्ने रहेछ। तीन महिनापछि भने दूधभात र घिउमा चोपेको ढिँडो खान थालेँ। पछि नुन हालेर फ्राई गरेको आलु मेरो ‘फेबरेट’ भयो।
शारीरिक रूपमा ममा धेरै परिवर्तन आएन। गर्भावस्थाको समयमा त म झन् नौ महिना नै अस्पताल बसेँ भन्दा पनि फरक पर्दैन। त्यसबेला मेरो एकदमै धेरै ‘मुड स्विङ’ हुन्थ्यो। सानो कुरामा पनि रुन मात्र मन लाग्थ्यो। तर, धेरै रोयो भने बच्चालाई असर गर्छ भनेर म आफूलाई सम्हाल्थेँ। नौ महिना पुग्दै गर्दा खुट्टाहरू सुन्निएर जुत्ताहरू ठीक हुन छोडेका थिए।
आठ महिनाको गर्भावस्था पूरा भएपछि म एउटा दुर्घटनामा परेँ। कुपण्डोलमा माइक्रोबसबाट ओर्लिँदा म नराम्रोसँग पछारिएँ। मेरो अवस्था देखेर वरिपरिका मानिसहरू डराएको आवाज मैले सुनेँ। तर अनौठो कुरा, मलाई कत्ति पनि दुखाइ महसुस भएन। म आफैँ जुरुक्क उठेँ र ‘केही भएको छैन’ भन्दै घर फर्किएँ।
संयोग कस्तो भने, त्यही दिन श्रीमान् पनि बाइकबाट लडेर हात फ्याक्चर बनाएर आउनुभएको रहेछ। त्यतिबेला त केही लागेन, तर पछि सम्झिँदा निकै डर लाग्यो। रातभर निद्रै लागेन। भोलिपल्टै डाक्टरलाई देखाउन गयौँ। धन्न! म र बच्चा स्वस्थ रहेछौँ।
त्यसको केही समयपछि भोलिपल्ट अप्रेशनको समय तोकिएको थियो। मैले अघिल्लो अन्तिम दिनसम्म पनि बाहिरी कामहरू गरिरहेकी थिएँ। उखुको जुसले मेरो गर्भावस्थाको यात्रालाई निकै सहज बनायो। डाक्टरहरूले सुरुमा सामान्य डेलिभरी हुन्छ भनेर अप्रेशन गर्नुपर्दैन भनिरहनुभएको थियो। तर, समय नजिकिँदै गर्दा पाठेघरको मुख सानो छ भन्ने देखियो र अप्रेशनको तयारी गर्नुपर्यो।
अप्रेशन गर्ने भनेपछि मलाई निकै डर लाग्यो। के गर्छ होला? कस्तो हुन्छ होला? भन्ने प्रश्नले मन आत्तियो। अझ कसै-कसैको त अप्रेशन गर्दा स्पाइनल कर्ड बिग्रिन्छ भन्ने सुनेकी थिएँ। त्यसमाथि हाम्रो परिवारमा कसैको पनि अप्रेशन गरेर बच्चा जन्माएको रेकर्ड नै थिएन। यी सबै कुराले म झन् डराएँ।
अप्रेशनको एक दिन अगाडि हामीले दही-चिउरा कार्यक्रम गरेर अस्पताल गयौँ। अस्पताल जाँदा परिवारका सबैजना रुनुभएको थियो। म आफैँलाई भित्रभित्रै डर लागिरहेको भए पनि उहाँहरूलाई ‘नडराउनुस्’ भनेर सम्झाएँ।
मलाई अप्रेशन कक्षमा लगेर ढाडमा दुईवटा सुई घोप्दा भने मलाई असाध्यै दुख्यो। त्यसपछि के भयो, मैले केही चाल पाइनँ। मात्र डाक्टरहरूले चलाएको औजारको ‘खर्त्याङखर्त्याङ’ आवाज सुनिरहेकी थिएँ। बीचमा अक्सिजनको मात्रा पनि कम भएछ, जसले मलाई निकै गाह्रो बनायो। अक्सिजन मास्क लगाएपछि बल्ल होसमा आएजस्तो भयो।
करिब आधा घण्टापछि नानीको जन्म भइसकेछ। सुरुमा उनी रोइनन्। डाक्टरले कहाँ, कसरी हाने कुन्नि, त्यसपछि जोडले रोइन्। त्यो पहिलो रुवाइ मेरो कानमा अझै गुञ्जिरहन्छ, म कहिल्यै बिर्सन सक्दिनँ।
सायद अप्रेशन गरेर जन्माएको भएर होला, जन्माउनेबित्तिकै तत्काल बच्चामा मेरो ध्यान गएन। उनलाई २४ घण्टा एनआईसीयूमा राखेपछि मात्र मेरो काखमा दिइयो। सुरुमा त समाउन पनि डर लाग्यो। तर, जति समय बित्दै गयो, उति नै माया लाग्दै जाने रहेछ। आत्मीयताको गाठो बलियो हुँदै गयो। स्तनपान पनि सहज रूपमा भयो।
मलाई अलि गाह्रो भएकाले आठ दिनसम्म अस्पतालमै बस्नुपर्यो। अक्सिजन कम भएको असरले गर्दा टाउको बेस्सरी दुख्थ्यो। घर गएर ११औं दिनमा न्वारन गरियो अनि म फेरि माइती गएर छ महिना बसेँ।
माइतीमा आमाले मलाई निकै स्याहार्नुभयो। आमाकै कारण मेरो सुत्केरी समय सहज भयो। अप्रेशन गरेको एक महिनाजति त मलाई आफैँ सिधा उठ्न पनि गाह्रो हुन्थ्यो। बच्चा नजन्मिँदासम्म मनमा एक किसिमको डर थियो। तर, नानीको आगमनसँगै ती सबै डरहरू हराएर गए।
समाजले फेरि पनि प्रश्न गर्न छोडेन। ‘यिनीहरूको बच्चा कस्तो होला?’ भनेर कानेखुसी गरेको मैले सुनेँ। तर, मेरो श्रीमान्को दृष्टि समस्या जन्मजात नभएको र मेरो पनि पछि मात्र भएको कारणले वंशाणुगत रूपमा बच्चालाई अप्ठ्यारो पर्दैन भनेर म ढुक्क थिएँ। यस्तो बेलामा मान्छेले अलि बढी नै भगवान् सम्झिँदो रहेछ। नभन्दै, नराम्रो केही भएन। छोरी स्वस्थ जन्मिइन्।

नानी जन्मिएपछि ‘यस्ताका सन्तानहरू त निकै ट्यालेन्ट हुन्छन्’ भन्ने कुरा सुनेँ। दृष्टिविहीन आमाबुबाको सहारा बन्नुपर्ने बाध्यताले गर्दा उनीहरू सानैदेखि बुझ्ने र चलाख देखिएका मात्र हुन्। मेरी छोरी अहिले आठ कक्षामा पढ्छिन्।
हामी आमाछोरीको सम्बन्ध साथीको जस्तो छ। उनी मलाई ‘यस्तो लुगा लगाउनुस्, यसले राम्रो देखिन्छ’ भनेर सल्लाह दिन्छिन्। उनी आफ्नो बुबाको त प्राण नै हुन्। समय मिल्नासाथ बुबालाई भेट्न गइरहन्छिन्।
नानी म जस्तो धेरै चञ्चले स्वभावकी छैनन्, उनी शान्त र गम्भीर छिन्। धेरै कुरा बुझ्छिन्। पढाइमा पनि अब्बल छिन् र भविष्यमा वैज्ञानिक बन्ने सपना बुनेकी छिन्। उनी गर्भमा छँदा म श्रीकृष्णका भजनहरू खुब सुन्थेँ। सायद त्यसैले होला, उनलाई अहिले मलाई भन्दा बढी गीताका श्लोकहरू कण्ठ छन्।
मेरो अनुभवमा, आमा हुन पाउनु भनेको संसारकै सबैभन्दा ठूलो भाग्यमानी हुनु हो। बिहे गरेर पनि आमा नबन्नु वा बन्न नचाहनु मूर्खता हो जस्तो लाग्छ।
म त भन्छु- बरु बिहे नगरे पनि हुन्छ, तर आमाचाहिँ पक्कै बन्नुस्। आमा हुनु भनेको एउटा मीठो, गौरवपूर्ण र आनन्ददायी अनुभूति रहेछ। सके त अझै पनि दुई-चार जना सन्तानको आमा बन्न मन छ। मातृत्वमा त्यस्तो विघ्न रमाइलो र शक्ति लुकेको हुँदो रहेछ।
सायद, मेरो माइतीले मलाई हर पाइलामा साथ दिनुभएको भएर पनि मलाई यो यात्रा रमाइलो लागेको हुन सक्छ। आफू आमा बनेपछि ममा निकै परिपक्वता आएको छ। मैले आफ्नी आमाको महत्त्व र त्यागलाई अझ गहिराइमा बुझेकी छु। आमाको माया धेरै लाग्दै गएको छ।
पहिला कसैले केही भन्यो भने तुरुन्तै रुन मन लाग्थ्यो, प्रतिवाद गर्न मन लाग्थ्यो। तर अहिले म शान्त भएकी छु, सहनशील भएकी छु। मातृत्वले मलाई जीवनको अर्को पाटो सिकाएको छ, जहाँ अपार माया र धैर्यता छ।
पुष २१, २०८२ सोमबार १२:४१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।