आजको मौसम : तराईमा बाक्लो हुस्सु, तीन प्रदेशका उच्च भेगमा हिमपातको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ। पश्चिमी वायुको प्रभावसँगै सोमबार तराईका अधिकांश क्षेत्रमा हुस्सु लाग्ने र उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
महाशाखाले आज बिहान आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै चिसोबाट बच्न र यात्रामा सतर्कता अपनाउन संकेत गरेको हो।
आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
यी तीन प्रदेश (कोशी, गण्डकी र कर्णाली) का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराईका धेरैजसो स्थानहरूमा हुस्सु कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
राति विशेषगरी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
पुष २१, २०८२ सोमबार ०८:१९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।