भेनेजुएला संकटमा पाकिस्तानले संयमता अपनाउन अपिल गर्दा भारतद्वारा चिन्ता मात्र व्यक्त

भेनेजुएला संकटमा पाकिस्तानले संयमता अपनाउन अपिल गर्दा भारतद्वारा चिन्ता मात्र व्यक्त

इस्लामाबाद : भेनेजुएलामा जारी तनावका बीच पाकिस्तानले सबै पक्षलाई संयमता अपनाउन र तनाव कम गर्न आग्रह गरेको छ।

पाकिस्तानी विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भेनेजुएलाका जनताको भलाईप्रति आफू संवेदनशील रहेको र त्यहाँको अवस्थाप्रति चिन्तित रहेको जनाएको छ।

पाकिस्तानले सबै समस्याको समाधान संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर खोजिनुपर्नेमा जोड दिएको छ। साथै, त्यहाँ रहेका आफ्ना नागरिकहरूको सुरक्षाका लागि निरन्तर सम्पर्कमा रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार जानकारी दिए अनुसार, अमेरिकाले भेनेजुएलाको राजधानी काराकासमा हवाई हमला गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ।

मादुरोलाई लागुऔषध र हतियार ओसारपसारको आरोप लगाइएको छ र उनलाई आज (सोमबार) अदालतमा पेश गर्ने सम्भावना छ। यद्यपि, मादुरोले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।

अमेरिकाको यो कारबाहीलाई विश्वका धेरै देशले एकतर्फी र संयुक्त राष्ट्र संघको नियम विपरित भएको भन्दै आलोचना गरेका छन्।

यस घटनामा भारतले पनि निकै सचेत प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले भेनेजुएलाको पछिल्लो घटनाक्रम गहिरो चिन्ताको विषय भएको बताएको छ। भारतले पनि त्यहाँको बदलिँदो परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ।

पुष २१, २०८२ सोमबार ०७:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।