आइपीएलबाट हटाइएपछि मुस्ताफिजुर रहमानले पैसा पाउँछन्?

आइपीएलबाट हटाइएपछि मुस्ताफिजुर रहमानले पैसा पाउँछन्?

एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्डको निर्देशनपछि कोलकाता नाइट राइडर्सले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टिमबाट हटाएको छ। यससँगै क्रिकेट समर्थकहरूमाझ एउटा प्रश्न उब्जिएको छ- अब उनले कति रकम पाउँछन्?

गत महिना भएको आइपीएल मिनी-अक्सनमा केकेआरले चेन्नई सुपर किंग्ससँगको प्रतिस्पर्धापछि मुस्ताफिजुरलाई ९ करोड २० लाख भारतीय रुपैयाँ (भारु)मा अनुबन्ध गरेको थियो। यो कुनै पनि बंगलादेशी खेलाडीका लागि आइपीएलमा तिरेको अहिलेसम्मकै उच्च रकम थियो। तर, अब यो रकम के हुन्छ त?

आइपीएलको लिलामी नियमअनुसार मुस्ताफिजुरको यो घटना ‘फोर्स मेजर’ (काबु बाहिरको विशेष परिस्थिति) अन्तर्गत पर्छ। यो भनेको यस्तो कानुनी व्यवस्था हो, जहाँ आफ्नो नियन्त्रणभन्दा बाहिरको असाधारण परिस्थितिका कारण सम्झौता पूरा गर्न नसक्दा कुनै पक्षलाई दोषी मानिदैन।

​​​​​​​यस घटनामा बीसीसीआईले नै खेलाडी हटाउन आदेश दिएकाले केकेआरले मुस्ताफिजुरलाई सम्झौता अनुसारको रकम तिर्नुपर्ने बाध्यता रहँदैन।

यो घटना अन्य खेलाडीहरूको भन्दा नितान्त फरक छ। मुस्ताफिजुर न त घाइते भएका हुन्, न त उनले आफैं नाम फिर्ता लिएका हुन्। कूटनीतिक र सुरक्षा सम्बन्धी कारण देखाउँदै बीसीसीआईले उनलाई हटाउन निर्देशन दिएको हो।

साधारणतया यदि लिलामीपछि खेलाडीले आफैँ नाम फिर्ता लिन्छन् भने उनलाई दुई सिजन प्रतिबन्ध लाग्छ र पैसा पाइँदैन। यदि लिलामीपछि खेलाडी घाइते हुन्छन् र कुनै खेल खेल्दैनन् भने पनि पैसा पाइँदैन। मुस्ताफिजुर भने खेल्नका लागि उपलब्ध थिए, तर बीसीसीआईको निर्देशनका कारण केकेआरले उनलाई हटाउनु पर्यो।

मुस्ताफिजुरले केकेआर वा बीसीसीआईसँग क्षतिपूर्ति माग्छन् वा माग्दैनन् भन्ने विषय बहसमै छ, तर उनले पैसा पाउने सम्भावना न्यून छ।

नियमअनुसार, यदि बीसीसीआईले खेल बाहेकका कारणले कुनै खेलाडीलाई हटाउँछ भने, सम्बन्धित टिमले खेलाडीको लिलामी मूल्य बराबरको रकम फिर्ता पाउँछ। तसर्थ, केकेआरले ९ करोड २० लाख भारु आफ्नो खातामा फिर्ता पाउनेछ।

यो रकम फिर्ता हुनु केकेआरका लागि महत्त्वपूर्ण छ, किनकि यसले गर्दा उनीहरूले मुस्ताफिजुरको स्थानमा अर्को बलियो खेलाडी किन्न आर्थिक रूपमा सक्षम हुनेछन्।

राजनीतिक कारणले लिलामीमा बिकिसकेको खेलाडीलाई हटाइएको यो सम्भवतः पहिलो घटना भएकाले मुस्ताफिजुरले क्षतिपूर्ति पाउने वा नपाउने विषय अनिश्चित भए पनि उनले पैसा नपाउने सम्भावना नै बलियो देखिन्छ।

पुष २१, २०८२ सोमबार ०७:३७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।