बालेन शाह : स्वतन्त्र उम्मेदवारदेखि रास्वपा वरिष्ठ नेतासम्म

बालेन शाह : स्वतन्त्र उम्मेदवारदेखि रास्वपा वरिष्ठ नेतासम्म

काठमाडौँ : नेपाली राजनीतिको स्थापित 'सिस्टम'लाई चुनौती दिँदै उदाएका बालेन्द्र शाह (बालेन) यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा छन्। र्यापरको रूपमा सीमित युवा पुस्तामाझ परिचय बनाएका उनी स्वतन्त्र उम्मेदवार हुँदै काठमाडौँ महानगरको नेतृत्व सम्हाल्न पुगेपछि भावी प्रधानमन्त्रीको उम्मेदवार बनेका छन्।

जेनजी आन्दोलनपछि फागुन २१ मा तोकिएको मध्यावधि निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्न पुगेका उनी आइतबारबाट स्वतन्त्र हैन रास्वपाका वरिष्ठ नेता भएका छन्।

रास्वपाले देशको भावी कार्यकारी प्रमुख (प्रधानमन्त्री)को रूपमा घोषणा गरेको उनी आइतबार आफूसहित २६ जना लिएर रास्वपामा औपचारिक रूपमा प्रवेश गरे। मेयरमा उनको उम्मेदवारी घोषणा जति अपत्यारिलो थियो भावी प्रधानमन्त्रीको यात्रा पनि त्यस्तै नै देखिन्छ। तर अपत्यारिलो ठानिएका उनै बालेन लौरो चुनाव चिन्हमा बहुमत ल्याएर मेयर भए।

साँढे तीन वर्षको मेयर यात्रामा केही गतिला काम देखिए पनि अधिकांश योजना अधुरै रहेका बालेनले मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्। तर कहिले मेयर पद छाडेर चुनावी अभियानमा लाग्छन् त्यो मिति भने एकिन छैन।

उनको मेयरको उम्मेदवारीदेखि रास्वपाको वरिष्ठ नेतासम्मको यात्रा :

१. उम्मेदवारी घोषणा:  २०७८  पुस २

बालेन शाहले एकाएक सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे। पेसाले इन्जिनियर रहेका उनको परिचय भने र्यापरको थियो। प्रारम्भमा उनको उम्मेदवारी घोषणालाई कमैले पत्याए। तर उनी "फोहोर व्यवस्थापन र सुशासन"लाई मुख्य एजेन्डा बनाएर अगाडि बढे।

२. मनोनयन दर्ता:  २०७९  वैशाख ११

उनको उम्मेदवारी घोषणालाई प्रमुख राजनीतिक दलहरूले गम्भीर रूपमा लिएनन्। रहरको रूपमा लिए। बालेन पनि आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न सङ्घर्षरतै थिए। जिस्किएको ठानेका उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर 'लौरो' चुनाव चिह्नका साथ स्वतन्त्र उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्तासँगै उनको पक्षमा काठमाडौँका युवा र शिक्षित वर्गमा खुल्न थाले।

३. ऐतिहासिक विजय: २०७९  जेठ १२

एकातिर एमालेका उम्मेदवार केशव स्थापित,अर्कोतिर नेपाली कांग्रेसको उम्मेदवार सिर्जना सिंह। दुवै संगठित भए पनि अन्तमा सबैलाई चकित पार्दै बालेन ६१ हजार ७ सय ६७ मतका साथ मेयरमा निर्वाचित भए। उनले स्थापित दलका दुवै उम्मेदवारलाई भारी मतान्तरले पराजित गरे। उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको जित भयो। अधिकांश वडाध्यक्षहरू कांग्रेसबाट आए।

४. मेयरको रूपमा काम सुरु : २०७९  जेठ १६

जितसँगै बालेनले महानगरपालिकाको १५औँ मेयरका रूपमा शपथ ग्रहण गर्दै जिम्मेवारी सम्हाले। कार्यभार सम्हालेकै दिन उनले नगर सभाको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरे, जुन नेपाली राजनीतिमा पारदर्शिताको नयाँ अभ्यास मानिन्छ। यो अभ्यास अहिलेसम्म जारी छ।

५. रास्वपासँगको ७ बुँदे सहमति: २०८२  पुस १३

जेनजी आन्दोलनकोक्रममा भदौ २४ मा उनको भूमिका नकारात्मक देखियो। सेनासँग वार्ता गराउने अनि संसद् विघटन गराउन उनको भूमिका देखियो। सिंहदरबार जल्दा दमकल नपठाएको भनेर उनको आलोचना भयो।

जेनजी समूहले उनलाई प्रधानमन्त्री बनाउन चाहे। तर उनले सुशीला कार्कीलाई अगाडि सारे। जेनजी आन्दोलनपछि केही समय निष्क्रिय झैँ देखिएका उनी एमाले महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित भएर आएपछि संसदीय राजनीतिमै सक्रिय हुने अभ्यासमा लागे।

स्वतन्त्र र विभिन्न दलका नेताहरूसँग संवादकै क्रममा करिब साढे तीन वर्ष स्वतन्त्र रहेका बालेनले राजनीतिक यात्रालाई थप विस्तार गर्न रास्वपा सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरे। यो सहमतिसँगै बालेनले रास्वपाको चुनाव चिह्न 'घण्टी' स्विकार्दै आगामी निर्वाचनमा जाने निर्णय गरे।

६. भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा : २०८२  पुस १३

रास्वपा र बालेन समूहबिचको सहमति अनुसार, आगामी प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाहलाई 'प्रधानमन्त्री'को उम्मेदवारका रूपमा अघि सार्ने निर्णय भयो। यसलाई नेपालको राजनीतिमा 'वैकल्पिक शक्तिहरूको वृहत् ध्रुवीकरण'को रूपमा हेरियो। पहिलो चरणमा नजोडिएका कुलमान घिसिङ दोस्रो चरणमा मिसिन आए।

७. अनि वरिष्ठ नेता :  २०८२ पुस २०

रास्वपाको केन्द्रीय समिति बैठकले विवेकशील साझा र  बालेनसमूहलाई पार्टीमा समेट्न पदाधिकारीको संख्या बढाउने निर्णय गर्यो। दुवै समूहको तर्फबाट ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दै आइतबारै बालेनलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गर्यो।

सुशासन र भित्री शहरको सौन्दर्यसँगै खुला स्थान बनाउन बालेन सफल देखिए पनि उनले चुनावमा गरेको फोहोर व्यवस्थापनदेखि अधिकांश वाचाहरू भने पेन्डिङमै छ। तर अब उनी मेयरको रूपमा काठमाडौँवासीलाई गरेका अधुरा वाचा थाँती राखेर स्थानीय राजनीतिबाट सिधै केन्द्रीय राजनीतिमा प्रवेश गरेका छन्।

पुष २०, २०८२ आइतबार २२:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।