बालेन अब स्वतन्त्र रहेनन्, रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत भए
काठमाडौं : स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित भएका बालेन शाह आइतबारबाट औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भएका छन्। रास्वपाबाट भावी प्रधानमन्त्री बन्ने सहमति भए पनि उनी औपचारिक रूपमा पार्टी प्रवेश गरेका थिएनन्।
आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मेयर बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेपछि उनी औपचारिक रूपमा रास्वपाको नेता भएका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
आइतबार दिउस बसेको बैठकले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गरेको थियो। सो बैठक सकिएपछि मनोनीत सात जनासहित पुन दोस्रो पटक बैठक बसेर बालेनसहितलाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गरेको हो।
बालेन र कुलमान घिसिङ समूहका नेताहरूलाई पदाधिकारीमा ल्याउन आइतबारकै बैठकले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय समेत गरेको थियो। रास्वपा स्थापनाकालदेखि अहिलेसम्म महाधिवेशन भएको छैन। अहिलेसम्म निर्वाचित कार्यसमिति नभएकाले वर्तमान काम चलाउ समितिले नै विधान संशोधन गरेर पदाधिकारीहरू थपघट गर्न सक्छ।
पुष २०, २०८२ आइतबार २०:०४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।